चितवन – चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा गएराती गर्भवतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको हो ।
चिकित्सकको लापरबाहीले गर्दा तीन महिने गर्भवतीको मृत्यु भएको मृतकका आफन्तहरुले आरोप लगाएका छन् ।
अत्यधिक रक्तस्राव भएपछि गर्भवतीलाई उपचारको लागि बिहीबार अस्पताल ल्याइएको थियो ।
उनको हिजो दिउँसो अपरेशन भएको थियो । अस्पतालले हिजोराति अचानक बिरामीको मृत्यु भएको खबर आफूहरुलाई दिएको बिरामीका आफन्तले बताएका छन् ।
गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । अस्पतालबाट लास निकाल्न जबरजस्ती हस्ताक्षर गराइएपछि अवस्था असहज भएको मृतकका देवर सन्तोष चौधरीले जानकारी दिए ।
अस्पतालमा तनाव सिर्जना भएपछि राती १ बजेदेखि नै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् भने अस्पताल प्रशासन पीडितको कुरा सुन्न नआएको चौधरीले बताए ।
अस्पतालले भने अहिलेसम्म घटना के कारणले भएको हो आधिकारिक रुपमा सार्वजनिक नगरेको पिडितका आफन्तले बताएका छन् ।





















