काठमाडाैं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले ठूलो संख्याकाे केन्द्रीय समिति बनाउँदैमा पार्टीको आकार ठूलो नहुने बताएका छन् ।
प्रज्ञा भवन कमलादीमा जारी पार्टीको चौथो केन्द्रीय समिति बैठकमा धारणा राख्दै केन्द्रीय सदस्यहरूले पार्टी तल सकिँदै गएकाे र माथि बढ्दै गएका कारण पार्टी निर्माणमा जाेड दिँदै यस्ताे बताएका हुन् ।
बैठकमा केन्द्रीय सदस्यहरूले सबैका कमजोरीको समीक्षासहित सरकारको कामका कारण देश र जनतामा परेको सकारात्मक प्रभावलाई पुँजीकृत गर्ने गरी आधारभूत तहबाट विशेष महाधिवेशन सम्मको संगठनात्मक योजना बनाउन पनि नेतृत्वलाई सुझाव दिएका छन्।
पार्टी आदर्श र मूल्यमान्यताविहीन हुँदै गइरहेको अवस्थामा पार्टी डाइनामिक बनाउने कि डाइनोसर बनाउने त्यो अवस्थामा आइपुगेकोले सबैकाे चिन्ताकाे विषय रहेकाे बताएका छन् । माओवादी पार्टीभित्र ठूलो कार्यनीति अलमलमा रहेको उनीहरूकाे धारणा रहेकाे छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले भद्दा बनाइएकाे केन्द्रीय समितिलाई घटाउन सुझाव दिएका छन् । प्रज्ञा भवन कमलादीमा जारी पार्टीको चौथो केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै तामाङले भद्दा कमिटीका कारण पार्टी कमजोर र भइरहेकै केन्द्रीय सदस्यहरू पनि हसबहादुर र छापबहादुर भएका बेला अरू सदस्य थप्दा झन् भद्रगोल हुने बताएका थिए ।
‘समय बदलियो, सोच बदलियो, हामी पनि बदलिनु पर्छ बुझेका छौं तर बदलिन तयार छैनौं,’ नेता तामाङले भने, ‘जनयुद्धकालीन गीत गाएर, त्यही बेलाको चिन्तन चरित्र र कार्यशैलीले समाजवादको सेवा गर्दैन। त्यसका लागि समाजवादी नै चिन्तन, कार्यशैली, विशेषता र चरित्र बोकेको पार्टी पंक्ति चाहिन्छ।’
पछिल्लाे समय पद पाए नेतृत्वको देवत्वकरण गर्ने र नपाए सत्तोसराप गर्ने प्रवृत्ति मौलाउँदै गएको उनकाे भनाइ छ ।





















