काठमाडौँ – नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षाविद् स्व. माधव प्रसाद मरहट्टा स्मृति ग्रन्थ ‘माधव सर’ नामक पुस्तकको आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरेका छन् ।
सामुदायिक र निजी विद्यालय प्रवर्द्धनमा योगदान पुर्याएका मरहट्टाले वामपन्थी आन्दोलनलाई अहिलेको अवस्थामा ल्याउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्रीले प्रशंसा गरेका थिए ।

स्व. मरहट्टाले १० वर्षे सशस्त्र विद्रोहको बेलामा साथ दिएको दाहालले स्मरण गरे । गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर २ जनता मावि आँपपिपल लगायत विभिन्न सामुदायिक विद्यालयमा शिक्षण पेशा सुरु गरेर निजी विद्यालय स्थापना र सञ्चालनमा समेत मरहट्टाको भूमिका रहेको छ ।
उनी काठमाडौंस्थित फ्लोरोसेन्ट र साउन वेस्टर्न स्कुलका संस्थापक मध्येका एक हुन् । उनले नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनको जिल्ला देखि केन्द्रसम्मको नेतृत्वमा रहेर शैक्षिक भूमिका पनि निर्वाह गरेका थिए । २०५८ र २०६० सालमा तत्कालीन विद्रोही माओवादी र सरकारबीच शान्ति वार्ता गराउन समेत मरहट्टाले भूमिका लेखेको पुस्तकमा उल्लेख छ ।

२०७७ कात्तिक २६ गते कोरोना संक्रमणका कारण उनको निधन भएको थियो । परिवारले स्मृति फाउन्डेसन स्थापना गरेर गोरखा र काठमाडौंका ५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको स्व मरहट्टाको ठूलो छोरा उमेश बाबु मरहट्टाले बताए ।
शैक्षिक र स्वास्थ्य क्षेत्रमा काम गर्न फाउन्डेसनले १५ लाख रुपैयाँको अक्षयकोष बनाएको माधव मरहट्टाका कान्छा छोरा डा. सुमन बाबु मरहट्टाले बताए ।

कार्यक्रममा विभिन्न पार्टीका नेताहरु , गोरखाका बुद्धिजिविहरु र परिवारका ईष्टमित्रहरुको व्यापक उपस्थिति थियो ।
त्यस्तै कार्यक्रममा प्रधानमन्त्रीले सरकारले सुरु गरेको भष्टाचार विरोधी अभियानमा समेत सहयोग गर्न आग्रह गरेका थिए ।
‘माधव सर’ पुस्तक लोकार्पण कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई मन्तव्यद्धारा सुमन मरहट्टाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन स्व. माधव मरहट्टाको छोरी संगीता मरहट्टाले गर्नुभएको थियो ।

![]()





















