भारत सरकारले चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले सरकारले वीहीबार देखि नै लागु हुने गरि चामलको निर्यातमा प्रतिबन्ध लगाएको हो ।
भारतको विदेश ब्यापार महानिर्देशनालयले वीहीबार एक निर्देशन जारी गर्दै बासमती बाहेकका सबै प्रकारका चामल निर्यात गर्न प्रतिबन्ध लगाएको हो । महानिर्देशनालयले हार्मोनिक कोड 10063090 अन्तर्गत पर्ने चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।
मनसुन कमजोर हुंदा भारतमा धानको उत्पादनमा कमी आएको छ । यसले गर्दा भारतमा चामलको मूल्य बढ्न थालेको छ । उच्च मूल्य वृद्धि रोक्नको लागि भारतले चामल निर्यातमा रोक लगाएको हो । भारतमा सन् २०२४ मा संसदीय निर्वाचन हुँदैछ ।
संसदीय निर्वाचनको ठिक अगाडी चामलको मूल्य वृद्धि उच्च हुने देखिएपछि भारत सरकारले रणनीतिक रुपमा चामलको निर्यातमा प्रतिबन्ध लगाएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
नेपालमा चिन्ता
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चामलको मूल्यवृद्धि हुने देखिएको छ । भारतले आज जुन चामल निर्यातमा प्रतिबन्ध लागाएको त्यो चामल नेपालमा भारतबाट नै ठुलो मात्रामा भित्रिने गरेको थियो । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपालले १६ करोड किलो चामल आयात गरेको थियो ।
जुन औसतमा मासिक १ करोड ४५ लाख किलो हो । त्यस्तो खालको चामलले नेपालले ९ अर्ब ८५ करोड बराबरको आयात गरेको थियो । मासिक १ करोड ४५ लाख किलो चामल खपत हुँदै आएकोमा सो को आयात नै गर्न नपाउने भएपछि चामलको माग बढ्न गई मूल्य वृद्धि हुने देखिन्छ ।
यस अघि भारतले गहुँ निर्यातमा पनि प्रतिबन्ध लगाएको थियो । जसका कारण नेपालमा गहुँ र गहुँको पिठोको हाहाकार भएको थियो । त्यस बेला सरकारले नेपालकै लागि मात्र भनेर गहुँ ल्याउन पहल गरेको थियो । अहिले पनि नेपालले चामल आयातको लागि पहल नगरे नेपालमा चामल कै हाहाकार हुने देखिन्छ।
गत चैत्र मै ‘एल निनो’ का कारण मनसुन कमजोर हुने र त्यसको कारण उत्पादन घटेर खाद्यान्नको मूल्य बढ्ने जोखिम रहेको समाचार प्रकाशन गरेको थियो।





















