काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई कारबाही गरिएको छ । करिब सय किलो सुन तस्करीमा मुछिएका विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा कुमार ढकाल र भन्सार अजेन्ट यादव पराजुलीलाई भन्सार विभागले निलम्बन गरेको हो।
विभागले एक जनालाई निलम्बन गर्न सिफारिश गरेको छ। भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गर्न अर्थ मन्त्रालयमा सिफारिश गरिएकाे हाे । सुन आउने वेला ड्यूटीमा रहेका तीनै जनालाई कारबाही अगाडि बढाइएको भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
अधिकृतलाई विभागबाट गर्न नमिल्ने भएकाले निलम्बन गर्न मन्त्रालयलाई सिफारिश गरिएको उनले बताए ।
साउन ३ गते साँझ मोटरसाइकल र स्कूटरको ‘ब्रेक शू’ मा राखेर १०० किलो सुन ल्याइएको थियो । हङकङबाट आएको सुनलाई विमानस्थल भन्सार कार्यालयबाट गेट पास गरेर बाहिर ल्याउँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो।
भन्सारबाट पास गराउँदा बनाइएका कागजात अनुसार भन्सार अधिकृत चन्द, सुब्बा ढकाल र भन्सार अजेन्ट यादव ड्यूटीमा रहेका थिए । कागजातमा भन्सार अधिकृत यादवको हस्ताक्षर रहेको पाइएको छ ।
भन्सार विभागले छानबिन गर्न छानबिन समिति गठन गरेको छ । विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा गठन भएको छानबिन समितिले काम शुरू गरिसकेको बताइएकाे छ।





















