काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले चिकित्सा शिक्षा अन्तर्गतका विषयहरु अध्ययनका लागि बढाएको शुल्क फिर्ता लिएको छ।
परिषद्ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरोकारवालासँगको छलफलपछि मात्र शुल्क समायोज गर्ने गरी हाललाई शुल्क वृद्धि फिर्ता लिएको जनाएको छ।
‘मिति २०८०।०३।२९ गते परिषद् कार्यालय, स्तर निर्धारण तथा सम्बन्धन महाशाखाबाट शुल्क समायोजन सम्बन्धी प्रकाशित सूचनाका सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजन सम्बन्धी यस अघिको निर्णय स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ’ परिषद्द्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।
परिषदले शुल्क वृद्धि गरेपछि यसको चौतर्फी आलोचना हुँदै आएको थियो। सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क बढाएको थियो।
सीटीईभीटीले नर्सिङतर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचएतर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको थियो।





















