चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा नयाँ पम्पहरू जडान भएसंगै बिहिबारदेखि नहरमा पानी छाडिएको छ ।
साउन लागिसक्दा पनि धान रोप्न नपाएर किसानहरू पानी छाडेपछि हर्षित भएका छन् । बिहिबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले नयाँ पम्पको उद्घाटन र पानी छाड्ने कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा बोल्दै मन्त्री जोशीले किसानलाई समयमै पानी उपलब्ध गराउन ढिलाइ भएकोबताए । उनले सरकारी काममा ढिलासुस्ती हुने गरेको भन्दै अब कुनैपनि बाहानामा ढिलासुस्तीलाई छुट नहुने बताए ।
कार्यक्रममा बागमती प्रदेशका सांसद जेएन थपलियाले सांसद नारायणी लिफ्ट सिँचाइ प्रणाली पुरानो र खर्चिलो भएको भन्दै यसको विकल्प खोज्नुपर्ने बताए । उनले सबै तहका सरकारको समन्वयमा नारायणी लिफ्ट सिँचाइ नयाँ पम्पहरु जडान गरिएको जानकारी दिए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माण कम्पनीको ढिलासुस्तीका कारण पम्प फेर्न चार बर्ष लागेको बताइन् । उनले नारायणी लिफ्टलाई बाह्रै महिना सञ्चालनका लागि तयारी गरिएको जानकारी दिइन् । “नारायणी नदी र राप्ती नदीमा यति धेरै पानी बगेर खेर गएको छ, प्रमुख दाहालले भनिन्, यसको उपयोग गर्न हिउँदमा पनि सञ्चालन गर्ने तयारी गरेका छौं ।”
उनले हानगरपालिकाले पश्चिम चितवनको ७ हजार विघामा सिचाइँ उपलब्ध गराएको भन्दै भूमिगत जलस्रोत सिचाइँ कार्यालय मार्फत सयौं स्यालो र डिप बोरिङ जडान गरिएको जानकारी दिइन् । महानगरपालिकाले संघ र प्रदेश सरकारसंग समन्वय गरेर सिचाइँका काम गरिरहेको बताइन् ।
नारायणी लिफ्टमा २६ करोड ३२ लाख ४३ हजार १५१ रुपैयाँको लागतमा यहाँ दुईवटा नयाँ पम्प जडान गरिएको हो । पम्पहाउस ‘ए’ मा रहेका ४० वर्ष पुराना पम्पहरू फेरिएको छ । यो सिचाइँ मार्फत भरतपुरको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगञ्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ ।
भारतीय निर्माण कम्पनी डब्लुपीआइएल लिमिटेड कोलकत्ताले पम्प निर्माणको काम गरेको हो । नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले ढिलै भएपनि पानी छाडेपछि किसानले राहत महशुस गरेको बताए । विगतमा करिब ५ हजार हेक्टर जमिनलाई सिँचाइ गर्दै आएको नारायणी लिफ्ट सिँचाइ प्रणालीले अहिले करिब ५० प्रतिशत क्षेत्रमात्रै सिँचाइ गर्ने गरेको छ ।





















