काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आफ्नै जग्गामा कार्यालय भवन बनाउने प्रक्रिया सुरु गरेको छ । पार्टीले ललितपुरको सातदोबाटोमा रहेको डेढ रोपनी जग्गामा करिब पाँच करोड लागतमा भवन निर्माण गर्ने गरी डिजाइन तयार गर्न लगाएको छ ।
जसपा कार्यकारिणी सदस्य एवं आर्थिक विभाग प्रमुख विजय यादवले भवनको डिजाइन लगभग तयार भइसकेको बताए । इन्जिनियरले पार्टीलाई डिजाइन बुझाएपछि त्यसमा छलफल गरी फाइनल गर्ने उनको भनाइ छ ।
‘इन्जिनियरले आज या भोलिसम्म भवनको डिजाइन हामीलाई सुम्पिनु हुन्छ, त्यसपछि हामी त्यसमाथि छलफल गरेर फाइनल गर्छौं,’ उनले भने, ‘डिजाइन फाइनल गरेपछि अगामी आर्थिक वर्षदेखि भवनको निर्माण कार्य सुरु हुन्छ ।’
२०७६ मा बसेको बैठकले आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको थियो । त्यतिबेला नै हरेक प्रदेशलाई आर्थिक संकलनका लागि निर्देशन दिइएको थियो ।
स्रोतका अनुसार कोशी प्रदेशले ५० लाख, मधेश प्रदेशले दुई करोड, बागमती प्रदेशले २५ लाख, गण्डकी प्रदेशले २५ लाख, लुम्बिनी प्रदेशले ५० लाख, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले १०÷१० लाख आर्थिक संकलन गर्नुपर्ने भनिएको थियो । त्यस्तै, गैरभौगोलिक प्रदेशले २५ लाख र प्रवास कमिटीले एक करोड संकलन गर्ने जिम्मा तोकिएको थियो ।
त्यस्तै, भवन निर्माणका लागि केन्द्रीय सदस्यले पाँच हजार, संघीय परिषद् सदस्यले दुई हजार र साधारण सदस्यले पाँच सय रुपैयाँ समेत बुझाउनु पर्ने त्यतिबेला निर्देशन दिएको थियो ।
पार्टीमा निर्णय भए पनि कोरोनाको कारण संकलनको काम खासै अगाडि बढेको थिएन । अब आर्थिक संकलन कामलाई पनि तीब्रता दिइने बताइएको छ ।





















