काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकी धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ। उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथली स्रोतले जानकारी दियो।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो। अस्पतालले मृत घोषणा गरेको हो।पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित थिइन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। आकस्मिक रूपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘आजको मन्त्रिपरिषद् बैठकले दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ,’ सञ्चारमन्त्री शर्माद्वारा जारी शोक वक्तव्यमा भनिएको छ।
दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको उनले बताइन्। मन्त्रिपरिषद् बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ।
२०२८ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आवद्ध रही समाज रूपान्तरणका लागि भएका सशस्त्र संघर्षलगायतका आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी दाहालको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात् गर्न सक्नु उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि सरकारले लिएको वक्तव्यमा उल्लेख छ।

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखियो तथा पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।





















