काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारविरोधी अभियान भनेर सरकारले ‘स्टन्टबाजी’ गरिरहेको आरोप लगाएका छन्।
एमाले बागमतीको सातौं बैठकमा मंगलबार उनले सरकारले भ्रष्टाचार विरोधी काम गर्यौं भनेर तमासा मात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने बताए।
‘यो तमासा सरकारले जे गरिरहेको छ, जनतालाई भ्रम दिएर वाइवाइ गर्ने षड्यन्त्र मात्रै हो यसबाट केही हुनेवाला छैन,’ उनले भने, ‘जहाँ ताक्न खोजेको त्यहाँ लाग्नेवाला नै छैन। यिनीहरूले के गर्छन् अन्त ?’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर भने पनि भित्तामा हानेको भकुण्डो आफैँतिर फर्केर आफैँलाई लाग्ने पनि बताए।
‘यिनीहरूले भकुण्डो भित्तामा हान्छन् भित्ताबाट भकुण्डो फर्केर आफ्नै टाउकामा लाग्छ। अर्कोलाई हान्न खोज्छन् तर आफ्नै टाउकामा लाग्छ,’ उनले भने, ‘त्यसो भएपछि यिनीहरूले केही गर्ने होइनन् यो सबै स्टन्ट हो।’ ओलीले अविश्वसनीय र भ्रष्टहरू नै अहिले आफूलाई बडो विश्वसनीय तत्त्वजस्तो देखाउन खोजेको पनि बताए।
उनले सरकार बनेको सात महिना हुँदासमेत ओर्तिरको सिन्को पर्तिर नसारेको तर ढाट्नमात्र लागेको बताए। ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरू नरहेको बताए। उनले आफूहरू अब मिसन २०८४ मा लागेको बताए।
उनले भने, ‘अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैलाउने मात्रै हो। गठबन्धनका मान्छेहरूको त्यही देखिन्छ। त्यसैले उनीहरू यो गठबन्धन कायम राख्न चाहन्छन् अहिले उनीहरू उस्तैउस्ताहरु मिलेका छन्। हामीलाई सरकारमा जान हतारो भएको होइन, हामीले त्यता हेरेको पनि छैनौं। सोचेका पनि छैनौं। हामी ग्रासरुटमा लाग्यो।
अहिले हामी अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं। यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन। हामीलाई यता र यताको टेको खोज्यो गर्नु छैन।’





















