फाईल फोटो
गोरखा – गोरखा अस्पतालमा चिकित्सक र अस्पताल व्यवस्थापन समितिबीचको टकराव फेरी शुरु भएको छ । ‘एक चिकित्सक एक संस्था’ (ओडिओआई) को बिषयमा छलफल गर्न आइतवार बोलाइएको बैठकमा चिकित्सक र व्यवस्थापन समितिका सदस्यबीच भनाभन भएपछि विवाद चुलिएको हो ।
बैठकमा बोलाएर समितिले आफूहरुमाथि अपमानजनक र धम्कीपूर्ण व्यवहार गरेको भन्दै अस्पतालमा कार्यरत चिकित्सकहरुले आपत्ति जनाएका छन् । समितिको व्यवहारले कामकाज गर्न निरुत्साहित र असुरक्षित हुने माहोल सृजना गरेको उनीहरुको भनाइ छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको ध्यानाकर्षण गराउँदै उनीहरुले सोमवारबाट आकस्मिक बाहेकका अन्य सेवा अनिश्चितकालका लागी बन्द गर्ने चेतावनी दिएका थिए । तर सोमवार बिहान समिति र चिकित्सकबीच भएको छलफल पश्चात ओपिडी सेवा बन्द नगर्ने चिकित्सकहरुले निर्णय गरे । तर दुई पक्षबीचको विवाद कायम नै छ । सहमतिका लागी साँझ चार बजे बसेको बैठक पनि निष्कर्र्षविहीन बनेको छ ।
यस बिषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठको प्रतिक्रिया लिन खोज्दा अस्पतालको आन्तरिक कुरा बाहिर ल्याउन नहुने भन्दै उनी पन्छन खोजे ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले आइतवारको बैठकमा समितिका एक सदस्य र चिकित्सकबीच सामान्य विवाद भएको बताए । ‘मैले बैठकमा चिकित्सकहरुलाइ पनि बोलाएको थिए,’ उनले भने, ‘तर समितिका एक जना सदस्यले तपाईहरु कसले बोलाएर आउनुभयो भनेर अलि कडा शव्द बोल्नुभयो त्यही बिषयमा उहाहरुबीच भनाभन भयो ।’
ओडिओआई अन्तरगत आएको रकम बाँडफाँडको बिषयमा भएको विवाद मिलाउन समितिले बैठक बोलाएको थियो । सोही बैठकमा समिति सदस्य र चिकित्सकबीच भनाभन भएको हो ।
अस्पतालका चिकित्सकहरुले अन्य स्वास्थ्य संस्थामा गएर बिरामी जाँच गर्न नपाउने शर्तमा गत बर्षबाट गोरखा अस्पताल र नेपाल सरकारबीच ओडिओआई सम्झौता भएको हो । सम्झौता अनुसार अस्पतालको सेवा गुणस्तरको आधारमा नेपाल सरकारले चिकित्सकलाई सत प्रतिशत भत्ताका लागी रकम उपलब्ध गराउँदै आएको छ ।
यस बर्ष ५० लाख रकम विनियोजन भएको थियो । तर उक्त रकम चिकित्सकहरुले मात्र लिन खोजेपछि विवाद भएको हो । अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीले पनि उक्त रकम पाउनुपर्ने माग गरेका छन् ।
‘गत बर्षपनि ५० लाख रकम आएको थियो, हामीले थाहै नपाई मेसुले चिकित्सकहरुलाई रकम बाड्नुभएछ, यसबर्ष स्वास्थ्यकर्मीलाई पनि केही रकम दिनुपर्छ भन्दा उहाहरु मान्नुभएन, त्यही बिषयमा भएको विवाद मिलाउन बैठक बेलाएका थियौ,’ अस्पताल व्यवस्थापन समिति अध्यक्ष श्रष्ठले भने ।
उनका अनुसार कार्यविधिमा ‘एक चिकित्सक नर्स÷स्वास्थ्यकर्मी एक संस्था’ लेखिएकाले चिकित्सकले मात्र हो वा स्वास्थ्यकर्मीले पनि उक्त रकम पाउने हो भन्नेमा अन्यौलता भएको उनको भनाइ छ । ‘हामीले यसबारे प्रष्ट पारिदिन भनेर लिखित रुपमा मन्त्रालयसँग राय मागेका छौ,’ उनले भने ।
यता चिकित्सक र स्वास्थ्यकर्मीहरु एक आपसमा समझदारी गरेर रकम बाँडफाँड गरिसकेका छन् । चिकित्सकलाई ८५ प्रतिशत र बाँकी १५ प्रतिशत स्वास्थ्यकर्मीलाई हुने गरी रकम बाँडफाँड भएको अस्पताल स्रोतले जनाएको छ ।
रकम बाँडफाँड भएपनि कार्यविधिले चिकित्सकले मात्र पाउने व्यवस्था गरेको भए स्वास्थ्यकर्मीलाई दिइएको रकम फिर्ता गरिने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।





















