काठमाडौँ – काठमाडौं महानगरपालिकाले विभिन्न समयमा फुटपाथमा व्यापार गर्ने सडक व्यापारीलाई अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई जागिरबाट हटाएको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिएको जानकारीअनुसार सात जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ भने पाँच जना महानगर प्रहरीलाई निलम्बन गरिएको छ ।
उनले यस अघि ती कर्मचारीलाई विभागीय कारबाही गरेको तर जनस्तरबाट फेरि अमानवीय व्यवहारको गुनासो आएपछि पदबाट हटाइएको जानकारी दिए। ‘हामीले केही दिन पहिले १२ जना नगर प्रहरीलाई अमानवीय व्यवहार गरेको भन्दै विभागीय कारबाही गरेका थियौ। तर महानगर प्रहरीबाट पटकपटक अमानवीय व्यवहार भएको जनस्तरदेखि नै गुनासो आए पछि हामीले फेरी कारबाही गरेका हौ’ उनले भने।

केही समययता महानगर प्रहरीले सडक व्यापारीलाई अमानवीय व्यवहार गर्दै आएका थिए। सामाजिक सञ्जालमा व्यापारीको सामान लुट्ने, घरभित्रैबाट ठेला थुत्ने र सडकमा लछारपछारसमेत गर्ने गरेको श्रव्यदृश्यहरु सार्वजनिक भएका थिए।
ती १२ नगर प्रहरीमाथि कारबाही गरिएपछि महानगरले आफ्ना सबै नगर प्रहरीलाई आचरणसम्बन्धी तालिम दिन पनि सुरु गरेको छ। सबै नगर प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन सुरु गरेको उनले बताए ।





















