काठमाडौँ । वरिष्ठ अधिवक्ता डा रवि खनालले नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।
बौद्धिक वृत्त नेपालले आयोजना गरेको ‘नेपालमा नागरिकता कानुन र राष्ट्रिय हित विषयक विचार गोष्ठी’मा खनालले नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक स्वार्थबाट माथि रहेर राष्ट्रिय सहमतिमा जानुपर्नेमा जोड दिए।
विसं २००९ देखि हालसम्म समाधान हुन नसकेको नागरिकता समस्या सम्बन्धी विषयलाई आजको पुस्ताले सच्याउन नसक्ने भन्दै उहाँले भावी पुस्तालाई समेट्ने गरी सबै एकताबद्ध हुनुपर्ने भनाइ राखे।
“नेपाली नागरिकले नागरिकता पाउनु हुँदैन भन्ने कोही छैन”, उनले भने, “निर्वाचन र विदेश भ्रमणका समयमा मात्रै नागरिकताजस्तो संवेदनशील विषय उठाउनु गलत हो ।”
गोष्ठीमा डा. एसके तिम्सिनाले कार्यपत्र प्रस्तुति गरेका थिए। उनले नागरिकताको अवधारणा, नागरिकता प्रदान गर्ने आधार, नेपालमा राजनीतिक परिवर्तन र कानुनको प्रभाव, नागरिकतासम्बन्धी गरिएका संवैधानिक व्यवस्थामाथि विश्लेषण गर्दै आमा र बाबुको संयुक्त नामबाट नागरिकता प्रदान गर्नुपर्नेमा जोड दिए।
नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ मा देखिएका विवाद विषयलाई प्रष्ट्याउँदै उनले मुलुकको खुला सिमानालाई मध्यनजर गरी ऐन कठोर बनाउन आवश्यक रहेको बताए। त्यस्तै वरिष्ठ अधिवक्ता हर्क रावलले नेपालमा नागरिकता कानुन राष्ट्रिय हित अनुकूल नबनेको बताए।
“नागरिकता जस्तो विषयमा राष्ट्रिय हित अनुकूल बनाउन आवाज उठाइरहनुपर्छ”, उनले भने।





















