एक जमाना थियो, नेता बन्ने मात्र होइन एक असल नेता बन्नुपर्छ भन्ने। त्यो जमानामा नेता बन्न जो सबैभन्दा प्रखर वक्ता छ, विचारक छ, मानिसहरूमा आफ्नो व्यवहारले प्रभाव पार्न सक्छ, उ नेता बन्थ्यो। तर, अब जमाना फेरिएको छ।
जसले सामाजिक सञ्जालमा बलियो उपस्थिति देखाउँछ, समाजमा स्थापित व्यक्तित्वहरुलाई तल्लोस्तरका अभिव्यक्तिहरू दिन्छ र नांगेझार पार्न सक्छ, तिनीहरू नेता बन्ने सम्भावना बलियो हुँदै गएको छ।
सामाजिक सञ्जालमा हाबी हुने सीप भएका व्यक्तिहरू बढी मूल्यवान् हुँदैछन् र नेता बनेका छन्। सामाजिक सञ्जालको बढ्दो प्रभाव कोभिड-१९ को समय र त्यसपछिको समयमा नाटकीय रुपमा परिवर्तन भएको छ। अबको समयमा नेता हुन राजनीतिक दल, संगठित कार्यकर्ता र नेताहरूको कार्यकारी उपस्थिति जरुरी छैन भन्ने देखिन्छ।
नेपालको विसं २०७९ मा सम्पन्न चुनावको मत परिणाम र अनुभवहरूले सामाजिक सञ्जालमा बलियो उपस्थित भएका व्यक्तिहरू बढी सफल भएको देखिएको छ।
अहिलेको समयमा धेरै व्यक्तिहरू सामाजिक सञ्जालमा जोडिएको र त्यहाँबाट सम्प्रेषित समाचारहरू परीक्षण पनि गर्नु नपर्ने र एउटा सही कुरालाई सयौं पटक खराब हो भनेर प्रमाणित गर्न खोज्ने जमात सामाजिक सञ्जालमा हाबी भएको अर्थात नेपाली समाजमा हाल चलनचल्तीमा आएको शब्द ‘साइबर स्यालहरू’का कारणले यस प्रकारको वातावरण सृजना भएको देखिन्छ।
जुन समाजले कुनै विश्लेषण नगरिकनै आफ्ना धारणाहरू बनाउँछ, त्यस्तो समाजमा सामाजिक सञ्जालको प्रभाव बढी हुन्छ भन्ने तथ्यांकले देखाएको छ। नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि कुनै राजनीतिक संस्कार नभएका, समाजमा योगदान नगरेका, संस्थागत हिसाबले बलियो उपस्थिति नभएका, सामाजिक सञ्जालमा हाबी हुने सीप मात्र भएका व्यक्तिहरू नेता बनेका छन्।
समाजमा स्थापित नेता हुन बिपी कोइराला, पुष्पलाल, मनमोहन, मदन भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’को जुन योगदान छ, भर्खरै उदाएका नेताहरू र तिनीहरूले गठन गरेको राजनीतिक दलहरूको पहिलेकाहरुको जस्तो योगदान र समर्पण छैन।
इतिहासको समीक्षा गर्दा नेता हुन चाहिने गुण त्याग, समर्पण र विचारक हुनुपर्छ एवं अरू सामान्य मानिसहरूले गर्न नसक्ने कुरा र तरिकामा प्रभाव पार्न सक्ने व्यक्ति हुनुपर्छ भन्ने कुरा चाहिन्थ्यो। अबको समयमा त्यस्ता गुणहरूको आवश्यकता छैन भन्ने देखिन्छ।
विगतमा नेताहरूले अध्ययनका लागि समय निकाल्नु एउटा अनुशासन थियो भने अहिले अरूको धुवाँदार विरोध गर्न र खुइल्याउन वा नांगेझार पार्न सामाजिक सञ्जालमा पोष्ट गर्ने समय निकाल्नु एउटा अनुशासन बनेको छ।
पहिले जनताका घरदैलोमा उपस्थित हुने कुरा महत्त्वपूर्ण थियो भने अहिले चौबिसै घण्टा सामाजिक सञ्जालमा उपस्थित भइरहनु सबैभन्दा ठूलो उपलब्धि बनेको छ। अहिलेको समयले के कुरालाई प्रमाणित गरेको छ भने, नेता हुनु भनेको प्राविधिक सीप मात्र हो।
आफूले बोलेका र सामाजिक सञ्जालमा सम्प्रेषण गरेका चिजहरूको जिम्मेवारी पनि लिनु नपर्ने, कार्यान्वयन पनि गर्नु नपर्ने, कुनै ठोस निर्णयहरू लिनु पनि नपर्ने आदि कारणहरूले गर्दा समाजमा स्थापित नेताहरू समाजबाट तिरस्कृत भैरहेका छन् र उटपट्याङ व्यक्तिहरू समाजमा स्थापित भइरहेका छन्। अर्थपूर्ण वा विचारशील निर्णयहरू गर्न धेरै गाह्रो छ, तर अहिलेको समाजमा सोचविचार गर्ने समय छैन र धैर्यधारण गर्न सक्ने अवस्थामा पनि छैन।
सामाजिक सञ्जाल सूचनाको ठूलो माध्यम भए पनि मानिसहरूले यसको दुरुपयोग गर्दै आएका छन्। नेपाली समाजको चरित्र हेर्दा यो प्रविधिले राम्रोभन्दा हानी बढी गरेको देखिन्छ। सामाजिक सञ्जालको दुरुपयोगले सबैभन्दा बढी दुर्व्यवहार स्थापित नेताहरू, बालबालिकाहरू र समाजका कमजोर वर्गहरूलाई बढी पारेको छ। दुरुपयोगको कुरा गर्दा राजनीति मनमा आउँछ।
सामाजिक सञ्जालको दुरुपयोग कम्प्युटरमा हुने भाइरस जत्तिकै खतरा छ। सामाजिक सञ्जालमार्फत मानिस, समुदाय, धर्म आदिलाई बदनाम गर्ने नयाँ अभ्यास सुरु भएको छ।
मानिसहरूले सामाजिक सञ्जालको उत्कृष्ट पक्षहरू छोडेर समय र शक्ति बर्बाद गर्दै यसको दुरुपयोग गर्छन्। जब सामाजिक सञ्जाल दुरुपयोग गरिन्छ, यसले यौन उत्पीडन, आपराधिक गतिविधि, दायित्व उल्लंघन, गैरकानूनी विवेक, दुर्व्यवहार, गोपनीयताको उल्लंघन, कानुनी दायित्वबाट विमुख हुनुपर्ने आदिजस्ता असरहरू निम्त्याउँछ।
यसको अलावा सामाजिक सञ्जालको दुरुपयोगले बाल पोर्नोग्राफी, पीछा गर्ने, गोपनीयता भंग हुने, समयको कमी, यौन सिकारीहरूको प्रभाव, सामाजिक सीप विकासको अभाव, साइबर बुलिङ, लागूऔषध र रक्सीको लत तथा सामाजिक सञ्जालका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ।
सामाजिक सञ्जाललाई शैक्षिक उद्देश्यका लागि, विश्वभरका सबै क्षेत्रहरूमा नवीनतम अद्यावधिकहरू र जानकारीहरू प्राप्त गर्न, व्यापार, नयाँ ग्राहकहरू प्राप्त गर्न, मार्केटिङ, आदिमा कनेक्टिभिटी बढाउन, सहयोग, दान, सामाजिक सेवा आदि गर्न समुदायहरू गठन गर्न, सेवाहरू प्रदान गर्न, अपराध विरुद्ध लड्न सरकार र निकायहरूलाई मार्गदर्शन गर्न, अपराधीहरू फेला पार्न, व्यवसायको प्रतिष्ठा र बिक्री बढाउन, सकारात्मक टिप्पणीहरू एवं सुधारका उपायहरू प्राप्त गर्न, उत्पादन र खरिद गर्न प्रयोग गर्नुपर्छ।
मानिसहरूसँग सामाजिक सञ्जालमा कुनै पनि कुरामा टिप्पणी गर्ने स्वतन्त्रता छ भन्दैमा त्यसबाट समाजमा पर्ने नकारात्मक प्रभावलाई प्रश्रय पाउनु हुँदैन।
(लेखकः कृषि सरोकार समाजका वरिष्ठ उपाध्यक्ष हुन्। साथै कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट प्रोफेसरको रुपमा समेत आवद्ध छन्।)





















