काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनु नपर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ गठबन्धनको बैठकले विपक्षी दलले भने जस्तो राजनीनामा दिनुनपर्ने निर्णय गरेको हाे ।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले प्रतिपक्ष दलले माग गरे जस्तो प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निर्णय गरिएकाे बताए ।
प्रतिपक्ष दलले प्रधानमन्त्रीको कुरा नै नसुनी विरोध जनाएको गठबन्धनको निचोड रहेकाे पाण्डेकाे भनाइ छ । एमालेले प्रधानमन्त्रीको विरुद्ध संसद्मा अवरोध गरेको छ । राजीनामा माग गरेको भए पनि यो असंसदीय निर्णय रहेकाे पाण्डेले बताए ।
उनले भने- “प्रधानमन्त्रीले बोलेका विषयमा आपत्ति भयो भने आवाज उठाउन पाइन्छ । के बोलेको हो ? सोध्नुपर्ने विषय हो । कुरै नसुनी, राजीनामा माग गर्ने निर्णय गरेको छ । गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने निर्णय र संसद् फेस गर्ने निर्णय गरेको छ।”
भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएकाे अभिव्यक्ति यतिबेला विवादीत भएकाे छ ।
सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएकाे प्रतिपक्षकाे आराेप रहेकाे छ ।
त्यसलाई लिएर नेकपा (एमाले) सहित विपक्षी दलले विरोध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने माग गरेका छन् । विपक्षी दलको विरोधका कारण संसद् बैठक अवरुद्ध भएका छन्।





















