काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफ्नो गल्ती भएको बताएका छन् ।
सोमबार (आज) कोइरालाको एकसयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो गिरिजाबाबुलाई पहिलो राष्ट्रपतिको रुपमा प्रस्ताव नगर्नु गल्ती भएको बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ‘गिरिजाबाबुलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटकपटक राजीनामा नदिन भन्नुहुन्थ्यो ।’ प्रचण्डले कोइरालाको राजनीतिक सुझबुझ र दूरदृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको पनि बताए ।
प्रचण्डले पहिलोपटकको भेटदेखि अन्तिम भेट हुँदासम्म कुनै कोइरालामा आफूले कुनै द्विविधा, अविश्वास, शंका या आशंका नदेखेको भन्दै बरु आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताए । उनले भनmे ‘बरु मैले गल्ती गरेँ, गिरिजाबाबुले विल्कुल गल्ती गर्नुभएन’, शान्ति सम्झौतालगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै प्रचण्डले भने, ‘मैले उहाँसँग गरेका प्रतिबद्धता सबै जस्ताको तस्तै पूरा गर्न कतिपय सन्दर्भमा सकिनँ ।’ उनले कोइरालाको चाहनाविपरीत कतिपय निर्णय गर्दा पनि विश्वास गर्न नछोडेको भन्दै कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने पनि बताए ।
‘अस्पतालमा जतिबेला उहाँ मृत्युसँग संघर्ष गरिराख्नुभएको थियो मलाई एक्लै बोलाएर देश सम्हाल्नुस् भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति अगाध आस्था र विश्वास भइराख्यो, भइराख्छ’, प्रचण्डले भने, ‘शान्तिको रक्षा गर्ने कुरा, संविधानको रक्षा गर्ने कुरा र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठूलो दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला हो ।’
प्रचण्डले गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने जमर्को भइरहेको बताए ।
‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको संकल्प, त्यो दिन जनताको भाव, लाखौँ जनसागरलाई यति छिट्टै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ,’ प्रचण्डले भने, ‘हामीले व्यवस्था बदल्न साहस ग¥याँै, जनताको अवस्था बदल्न सकेनौँ, त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ ।’
प्रधानमन्त्री प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न नसकिएको बताउँदै त्यसका लागि स्वास्थ्य, शिक्षा, रोजगारी र स्वाबलम्बनलगायतका विषयमा सोही दृष्टिका आधारमा काम गर्नुपर्ने बताए ।





















