काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा गालीगलौजमा नउत्रिन पार्टी समर्थकलाई आग्रह गरेका छन्।
काठमाडौंमा शनिबार आयोजित पार्टीको धादिङ-काठमाडौं सम्पर्क भेलामा उनले सामाजिक सञ्जालमा समर्थकले जथाभाबी टिप्पणी गर्दा त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्ने भएकाले त्यस्तो नगर्न सचेत गराए।
‘हाम्रा समर्थकहरू, हाम्रा सदस्यहरू सामाजिक सञ्जालमा असहिष्णु छन्, असाध्यै धेरै गालीगलौज गर्छन् भनेर आरोप लागेको छ। अब त्यो आरोप खेपेर बस्न मिल्दैन,’ उनले भने, ‘एउटा राजनीतिक दलका रूपमा समर्थकहरूले जे मन लाग्यो, त्यही भनिरहँदाखेरि त्यो दलको नेताहरूलाई त्यसको असर पर्छ।’
सभापति लामिछानेले निर्वाचनका बेलामा पनि सिर्जनात्मक ढंगले प्रतिकार गरेको स्मरण गराउँदै अहिले पनि सोही शैली अपनाउन आग्रह गरे। उनले सभ्य र शिष्ट ढंगले विपक्षहरूको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने बताए।
उनले भने, ‘ओहो, रास्वपाका समर्थकहरू त कति शिष्ट भएछन् ! पहिला त कस्तो थिए, अहिले त कति राम्रा भएछन्, आलोचना त गर्छन्, सुन्छन्, तर कति सभ्य र शिष्ट ढंगले गर्छन् भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनुपर्नेछ।’
उनले २०८४ सालको निर्वाचनमा रास्वपा मुलुकको पहिलो शक्ति बन्ने दाबी गरे। सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकिर गरे। लडे आफ्नै गोडामा अल्झिएर लड्ने हो भन्दै उनले त्यस्तो हुन नदिने गरी अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।
उनले नयाँ पार्टी र व्यक्तिहरुबीच फाटो ल्याउन ठूला दलहरूले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए।





















