अन्तिम खेलमा नेदरल्यान्ड्सले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई पराजित गरे नेपाल सुपर-सिक्स नपुग्न सक्छ। त्यतिबेला रनरेटको आधारमा सुपर-सिक्स तय हुनेछ। अहिलेको अवस्थामा नेपालको भन्दा नेदरल्यान्ड्सको राम्रो रनरेट छ।
नेपाल र नेदरल्यान्ड्स एकदिवसीय खेलमा पाँच वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो। पहिलो खेलमा नेपाल ५५ रनले पराजित हुँदा दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।
सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।





















