काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्।
अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारीसमेत लिएका थिए।
निरीक्षण अघि प्रधानमन्त्री प्रचण्डले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए। दाहाल, लम्साल, रूपाखेती, कुँवर र राणा वंशका कुल शिरोमणि दाशुको सालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरेका हुन्।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो दोस्रो कार्यकाल देशका लागि परिणामुखी भएको स्मरण गर्दै तेस्रो कार्यकाल इतिहासकै सफल बनाउन लागिपरेको बताए। उनले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकार अगाडि बढिरहेको बताए।





















