गोरखा / अमरसिँह थापा स्मृति दिवसमा गोरखाको सिरानचोक गाउँपालिका र डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाले सार्बजनिक विदाको घोषणा गरेका छन् ।
राष्ट्रिय बिभूतिको दुईसय चारौँ स्मृति दिवसको अवसरमा गाउँपालिका तथा नगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा सार्वजनिक विदा घोषणा गरिएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
‘राष्ट्रिय विभूति अमरसिँह थापा गोरखा सिरानचोक गाउँपालिका वडा नं। ६ मा जन्मेका हुन् । मृत्यूचाहिँ १८३८ को जनैपुर्नेको दिनमा गोसाइँकुण्डमा भएको हो’, अध्यक्ष गुरुङले भने, ‘क्यालेण्डरमा हेर्दा त्यो बर्षको जनै पुर्ने साउनको १६ गते परेको रहेछ । त्यसैले हरेक बर्षको साउन १६ गते सार्वजनिक विदा गरी अमरसिँह थापा स्मृति दिवस मनाउने निर्णय भएको छ ।’
त्यसदिन उनको जन्मस्थल डाँडेमा झण्डोत्तोलन कार्यक्रमको आयोजना गरिएको पनि अध्यक्ष गुरुङले जानकारी दिए ।
सो ठाउँमा चार रोपनी जग्गामा अमरसिँह पार्क निर्माण कार्य सुरु भएको पनि गोरखा अमरसिँह नगर पर्यटन संस्थाका रामचन्द्र थापाले जानकारी दिए ।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका सेनाका सेनापतिको रुपमा रहेर अमरसिँह थापाले सिरानचोक, लम्जुङ हुदै पाल्पालगायतका बाइसीचौबिसी राज्य एकीकरण गरेको इतिहासमा उल्लेख छ ।
लम्जुङका सैन्य कमाण्डर भक्ति थापालाई समेत गोरखाली सेनामा समेटेर उनले नेपाली एकीकरण अभियान सफल पारेका इतिहासमा उल्लेख छ ।





















