काठमाडौं । मण्डला थिएटरमा असार पहिलो सातादेखि एकैपटक दुईवटा नाटक प्रदर्शनमा आउने भएका छन् । मण्डलाको स्टुडियो थिएटरमा असार ७ गतेदेखि नाटक ‘कोराघाट’ र सोही स्थानको ठूलो प्रेक्षालय (मण्डला थिएटर)मा असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’को नियमित प्रदर्शनमा आउने भएका हुन् ।
मण्डला थिएटरले नियमित रूपमा गर्दै आएको अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको एघारौं ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको नाटक कोराघाटलाई रंगकर्मी तथा चलचित्र अभिनेता कमलमणि नेपालले निर्देशन गरेका छन् । कुमार नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरू’मा आधारित नाटक असारको २१ गतेसम्म हरेक साँझ ४ बजे मञ्चन हुनेछ ।
मण्डला थिएटरमा मञ्चन हुने अर्को नाटक ‘हिउँभन्दा चिसो’लाई साइकोलोजिकल थ्रिलर जनराको बताइएको छ । हाललाई कथावस्तु र परिवेश नखुलाइएको नाटक ‘हिउँभन्दा चिसो’मार्फत पुराना रंगकर्मी तथा चलचित्र कलाकार भोलाराज सापकोटालाई फेरि एकपटक मञ्चमा देख्न पाइने भएको छ ।
बलिउड चलचित्र ‘बर्फी’मा रणवीर कपुरसँग स्क्रिन सेयर गरेर चर्चा कमाएका सापकोटाले त्यसयता थुप्रै नेपाली चलचित्रमा काम गरे पनि ६ वर्षअघि बिमल सुवेदीद्वारा निर्देशित ‘हेम्लेट’ पछि कुनै नाटकमा अभिनय गरेका थिएनन् ।
लामो समयपछि नाटक खेल्ने अफर आएको, स्क्रिप्ट मन परेको र समय पनि अनुकूल भएका कारण ‘हिउँभन्दा चिसो’मा अभिनय गर्न लागेको र यसले आफूलाई उत्साहित बनाएको सापकोटाले बताएका छन् ।
‘हिउँभन्दा चिसो’मा सापकोटासँगै कलाकारद्वय रेणु योगी र गोविन्द सुनारको अभिनय देख्न पाइनेछ ।





















