काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी अप्ठ्यारो अवस्थाबाट गुज्रिएको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित एक विचार गोष्ठीमा उनले निर्वाचनबाट जितेर संघदेखि प्रदेश स्थानीय तहसम्मको नेतृत्व लिँदा कार्यकर्ताको निराशा बदल्न नसकिएको बताए।
महामन्त्री थापाले आम कार्यकर्तामा देखिएको निराशा बदल्न काँग्रेस पुनर्निर्माण खाँचो औँल्याए। उनले काँग्रेस पुनर्निर्माणका निम्ति पार्टीभित्रका सबै गुटहरूलाई भत्काउनुपर्ने बताए। परिवर्तन चाहने जो कोही दाइहरूको साथ छोड्न तयार हुनुपर्ने उनको भनाई छ।
‘मेरो आग्रह छ, नेपाली काँग्रेस पार्टीभित्र अब यसलाई सुधार्ने हो भने काँग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ। जम्मा काँग्रेसमा दुई वटा गुट छ भन्ने बनाऔं। जम्मा दुई वटा गुट काँग्रेसमा अब। एउटा गुट काँग्रेसमा परिवर्तन चाहने गुट। एउटा गुट परिवर्तन रोक्ने गुट। यो दाइ, त्यो दाइ सबै छोडिदिनुहोस्’ उनले भने।
अहिले नागरिकहरू कुशासन, भ्रष्टाचार र बेथितिबाट आजित भएको थापाको टिप्पणी छ। नागरिकहरूमा यी कुरा हटाउने विश्वास दिलाउन सके काँग्रेस बलियो हुने उनको भनाइ छ। यति गरे काँग्रेसको पुनः निर्माण सम्भव हुने उनको दाबी छ।
‘नेपाली काँग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु। राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्न सक्यो भने यो पार्टीको घर भरिन्छ,’ थापाले भने, ‘नयाँ मान्छे आउँछन्। नआउने कुरै छैन। काँग्रेस कमजोर हुने कुरै छैन। यो पार्टीको पुनः निर्माण सम्भव छ।’





















