काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वलडाकू शिविरको भौतिक पूर्वाधार र रासन पानीका लागि दिएको सम्पूर्ण रकमको अडिट रेकर्ड नै रहेको बताएका छन्।
प्रतिनिधि सभाको बिहिबारको बैठकमा सांसदहरुले विगतमा माओवादी लडाकू शिविरमा घोटाला भएको र त्यसबारे प्रधानमन्त्रीको जवाफ माग गरेपछि प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले बिगतमा क्यान्टोनमेन्टमा राज्यले दिएको पैसाबारे अडिट समेत भैसकेको र त्यो विषय टुंगिसकेको अवस्थामा राजनीतिक पूर्वाग्रह राखेर यो विषय पटक-पटक उठाइने गरेको भन्दै क्यान्टोमेन्टमा भ्रष्टाचार नभएको उल्लेख गरे।
उनले पूर्वलडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताए। यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए।





















