चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी माविको जस्तै आकर्षण बनाउनेतर्फ महानगरपालिकाको ध्यान रहेको बताएकी छन्।
भरतपुर २५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय शोसीमा आयोजित विद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै देशमै पहिलो र दोस्रो स्थानमा नारायणी मावि हुनु भरतपुरको लागि गर्वको विषय भएको उल्लेख गरिन्।
भरतपुर महानगरपालिकाको एक वडा विद्यालय एक नमुना विद्यालय, एक कक्षा कोठा एक शिक्षक ,स्वेमसेवक शिक्षा, दरबन्दी मिलन जस्ता कार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको उनले बताइन्।
प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयमा भइरहेको विद्यार्थीको सङ्ख्या वृद्धि नै यसको मानक भएको उनको भनाई थियो। अहिले विद्यार्थीको सङ्ख्या वृद्धि भएकाले धेरै जसो विद्यालयमा भवनहरू थप निर्माण गर्नुपर्ने अवस्था रहेको पनि जानकारी दिइन्।
भरतपुरका २ हजार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। भरतपुरका ६ वटा विद्यालयमा अध्ययन गर्ने ईसिडीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका प्रमुख दाहालले वितरण गरिन्।
भरतपुर वडा नम्बर २५ मा रहेको सोसी माध्यमिक विद्यालयका विद्यार्थीलाई सो सामाग्री दिएर कार्यक्रमको शुभारम्भ गरिएको हो। साझा पुर माविमा ३५५ जना, सोसी माविमा ४३६ जना, हिमालय दण्डपाणि माविमा २७८ जना, मोहन माविमा ४१४, सिद्धि जनकल्याण आधारभूत विद्यालयमा १४५ जना र ईन्द्रपुरी माविमा १०० जनाले सो सामाग्री पाएका छन्।





















