तनहुँ। तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. स्वर्णिम वाग्लेले देशको राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्ययतालाई एक साथ चिर्नुपर्ने अवस्था आएको बताएका छन्।
मुख्य निर्वाचन कार्यालयबाट विजयीको प्रमाणपत्र लिए पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आज दमौलीको खुलाचौरमा आयोजित सभामा उनले भने, ‘राजनीति सही दिशामा छैन, दूषित बन्दै गएको छ, यसलाई संल्याउनुपर्छ।’ राजनीतिलाई संल्याएर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने डा वाग्लेको भनाइ थियो।
राष्ट्रिय जीवनका विभिन्न पाटा ठप्प रहेका उल्लेख गर्दै उनले ती सबै कुरालाई खुकुलो बनाउँदै अन्तर्निहित सम्भावनालाई प्रष्फुटनका लागि राजनीतिलाई सही दिशामा ल्याउनुपर्नेमा जोड दिए। एक व्यक्तिको प्रयासले मात्रै देशको विकास गर्न नसकिने उल्लेख गर्दै डा वाग्लेले यसका लागि सबै राजनीतिक दल एकै स्थानमा रहेर जिम्मेवारका साथ काम गर्नुपर्ने समय आएको उल्लेख गरे।
‘रास्वपा छ महिनामा राष्ट्रिय पार्टी बन्न सफल भएको छ, राजनीतिमा यसले एक किसिमको झिल्को दिएको छ। यसले परम्परागत दललाई सुध्रिन बाध्य बनाएको छ,’ उनले भने। युवाका आकांक्षालाई पूर्णरुपले आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नरहेको वाग्लेको भनाइ थियो।
उनले भने, ‘देशका विकृति विसंगतिलाई चिर्न तनहुँले ठूलो सन्देश दिएको छ।’ तनहुँवासीले गर्व गर्ने किसिमले इमान्दार र जिम्मेवार भएर काम गर्ने डा वाग्लेले प्रतिबद्धता व्यक्त गरे।





















