काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी समितिका सदस्यको बालुवाटारमा बसेको बैठक सकिएको छ ।
बैठकमा २९ स्थायी समिति सदस्य र २ जना आमन्त्रित सदस्य सहभागी रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले आजै बिहानका लागि डाकिएको बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय विधि सम्मत नभएको ठहर गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यस्तै बैठकले स्थायी कमिटीको अर्को बैठक आवश्यक रहेको भन्दै यसका लागि मिति तय गर्न ओलीसँग दाहालले छलफल गर्ने पनि निर्णय गरेको श्रेष्ठले बताए ।
बैठकमा पार्टीको सल्लाहकार परिषद्का अध्यक्ष तथा अनुशासन कमिटीका अध्यक्ष अमृत बोहोरा पनि सहभागी थिए ।





















