काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन्।
किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा तथा जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले सो ज्ञापनपत्र बुझाएको हो।
प्रदेशको नामकरण कोशी भएपछि उत्पन्न परिस्थितिलाई तत्काल वार्ताबाट समाधान गर्न र आन्दोलनका क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
ज्ञापन पत्रमा पहिचानका पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्री समक्ष अनुरोध गरिएको छ।





















