काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको रिट सर्वोच्च अदालतमा पेश भएको छ।
अधिवक्ता युवराज पौडेल ‘सफल’ले आइतबार दिउँसो लामिछानेको राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन्।
रिट सर्वोच्च पुगे पनि दर्ता भने भइसकेको छैन। रिट दर्ता गर्ने/नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको अदालत प्रशासनले जनाएको छ। चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।
त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने प्रतिवेदन दिएका थिए। लामिछानेको राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अधिवक्ता सफल सर्वोच्च पुगेका हुन्। यसअघि लामिछानेको नागरिकता प्रकरणमा पनि उनले सर्वोच्चमा रिट हालेका थिए।
अमेरिकी नागरिकता हुँदाहुँदै लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र उपयोग गरी नेपाली नागरिकता लिएको विषयमा छानबिन गरी कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको थियो। नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर हुँदै पद गुमाउन बाध्य भएका थिए।
नागरिकता प्रकरणमा दोषी ठहर भएपछि उनले नेपाली राहदानी राहदानी विभाग पुगेर फिर्ता गरेका थिए।





















