चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्दागर्दै अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी खुशीको खबर छिट्टै सुन्न पाइने बताएकी छिन् ।
रंगशाला निर्माणका क्रममा लागेको ऋण तिर्ने र निर्माणको बाँकी काम एक साथ अगाडि बढाउनु पर्ने बताएकी हुन् । नेपाल कराते महासंघको सातौँ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख दाहालले बहुवर्षीय सहमति सहित टेण्डर प्रक्रिया अगाडि बढाउने गरी पहल भइरहेको उल्लेख गरिन् ।

मेयर दाहालले भनिन्, ‘रंगशाला बन्छ कि बन्दैन भन्ने विषय सबै जनता र खेलाडीले चिन्ता र चासोको साथ हेरिरहेकाले महानगरपालिका प्रमुखको हैसियतले मैले पहल गरिरहेको छु,’ उनले भनिन्, ‘मैले सामाजिक सञ्जालमा केही दिनमा सुखद समाचार सुन्न पाउँछौँ भनेको थिएँ, म निरन्तर पहलमै छु, केही दिनभित्र सुखद समाचार सुन्न पाउनेमा आशावादी छु, ऋणको निकास हुँदासाथ रंगशाला निर्माण प्रक्रिया अघि बढाउन समस्या छैन र निर्माण प्रक्रिया अघि बढ्छ ।’
सम्बोधनका क्रममा महानगरपालिका प्रमुख दाहालले रंगशाला निर्माणका क्रममा लागेको ऋणकै कारण संघीय सरकार र बागमती प्रदेश सरकारबाट विनियोजन भएको २७ करोड रुपैयाँ फ्रिज हुने अवस्था आएको बताइन् ।





















