चितवन । भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्दामध्ये चारवटाको फैसला भएको हो ।
भरतपुर महानगरपालिकाको कानुनी मामिला शाखाका सहायक निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार फैसला भएकामध्ये एउटा मुद्दा जिल्ला अदालत चितवन गएको छ ।
अन्य दुईवटा क्षेत्राधिकारभन्दा बाहिर भएकाले अदालत पठाइएको उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिमका मुद्दा महानगरपालिकाको न्यायिक इजलासमा आउने गरेका छन् । जसअन्तर्गत साँध सिमाना, बालीनाली क्षति, बाटो निकास, मानाचामल र घरबहालसम्बन्धी मुद्दा यस इजलासले हेर्ने गर्दछ ।
सापकोटाका अनुसार मेलमिलापका लागि २२ वटा ठाडो उजुरी दर्ता भएका छन् । जसमध्ये १४ वटा मुद्दा उजुरीको मेलमिलाप भइसकेको छ भने आठवटा छलफलका क्रममा छन् । महानगरमा आउने मुद्दा र उजुरीमा अधिकांश साँध–सिमानाका हुने गरेको बताए ।
हरेक वडा कार्यालयमा मेलमिलाप समिति रहेको बताउँदै उहाँले सुरुआती समयमा वडामा विवाद मिलाउने प्रयास हुने र वडामा मिल्न नसकेमा महानगरको मेलमिलाप समितिमा आउने बताए ।
महानगरको मेलमिलाप समितिबाट समेत मेलमिलाप हुन नसकेको मुद्दामात्र न्यायिक समितिमा आउने उहाँको भनाइ छ । न्यायिक समितिले पहिलो पक्ष र दोस्रो पक्षलाई बोलाएर छलफल गरी दुवै पक्षको हित हुने गरी निर्णय गर्ने उनको भनाइ छ। न्यायिक समितिबाट समेत समस्या समाधान हुन नसकेको खण्डमा मात्रै अदालत पठाइने अधिकारीले जानकारी दिए।
भरतपुर महानगरको न्यायिक समितिका संयोजक चित्रसेन अधिकारीले आफ्नो पालिकाभित्र दुवै पक्षको हित हुने गरी फैसला हुने गरेको बताए ।





















