चितवन – चितवन प्रहरीले जिल्लामा धमाधम फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेको छ । देशकै मध्य भागमा पर्ने यहाँ फरार प्रतिवादीको संख्या बढ्ने क्रम नरोकिएपछि यहाँ अभियाननै चलाएको चितवन प्रहरीले जनाएको छ ।
जिल्लामा नयाँ प्रहरी प्रमुख एसपी रामेश्वर कार्की आएसगैँ यहाँ फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारिएको हो । उनले आफ्नो १५ बुँदे कार्ययोजना लागु गर्दै फरार प्रतिवादी पक्राउ अभियानलाई विशेष रुपमा कडाई गरेका छन् । सोही अभियानका एकपछि अर्को फरार प्रतिवादी पक्राउ परिरहेका छन् ।
सोही क्रममा चितवन प्रहरीले फागुनमा मात्रै ३७ जनालाई नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९ ८० को आठ महिनामा २३७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
उनीहरुबाट ४३ वर्ष ४ महिना २६ दिन कैद र ९२ लाख ८६ हजार २३९ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो । ३७ प्रतिवादीबाट १७ वर्ष ६ महिना २ दिन कैद र १९ लाख ३१ हजार ८४५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले फरार प्रतिवादी पक्राउ, लागूऔषध कारोबार तथा सेवन नियन्त्रण, अपराध नियन्त्रणका लागि नियमित गस्ती तथा अनुगमनलाई प्राथमिकता दिइएको बताए । उनका अनुसार आफुले जिल्ला कमाण्ड समालेसगैँ १५ सय पटक भन्दा बढी विभिन्न गस्ती अभियान गरिएको छ ।
एसपी कार्कीले फरार प्रतिवादीको सङ्ख्या अझै बढ्नसक्ने उल्लेख गर्दै फरार भएका प्रतिवादीमा अझै निगरानी बढाइएको बताए । उनले पक्राउ गरेका प्रतिवादीलाई अदालतमा हाजिर गराएर कारागार चलान गर्ने जानकारी दिँदै खुल्ला सिमा भएका कारण भारतमा गएर लुकेर बस्ने समस्या पनि देखिएको बताए ।
अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने उदेश्यले संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
अदालतबाट तारेखमा छुटेर फैसला भएका पनि कतिपय फरार हुने गरेका छन् । यस्ता फरार प्रतिवादी ठूलो सङ्ख्यामा रहेको चितवन प्रहरीले जनाएको छ ।





















