काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुने गरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन्।
काठमाडौंमा आईतवार आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभामा उनले निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
व्यवसायीलाई जिम्मेवार बन्न निर्देशन दिँदै मन्त्री श्रेष्ठले आवश्यक परे कारबाही गर्ने चेतावनी समेत दिए। उनले भने, ‘राज्य र जनतालाई नोक्सानी हुने गरी निर्माण व्यवसायीहरूले काम नगरेको पाइए म टुलुटुलु हेरेर बस्न सक्दिन। आवश्यक काम कारबाहीको प्रक्रियामा जानेछु।’
मन्त्री श्रेष्ठले निर्माण व्यवसायीले पाउन बाँकी भुक्तानी उपलब्ध गराउन सरकारले तयारी गरिरहेको बताए। ‘भुक्तानी हुन नसक्नुको कारण आर्थिक संकट वा पैसा नभएर होइन।
तर प्रक्रियागत समस्या र जिम्मेवारी बोधमा भएका समस्याका कारण रोकिएको हो,’ उनले भने, ‘समयमै भुक्तानीका लागि प्रधानमन्त्री र अर्थ मन्त्रालयसँग छलफल जारी छ।’





















