काठमाडौं। गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्। राष्ट्रपतिको लागि आज भएको मतदानमा उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन्।
मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन्। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।
निर्वाचनमा तीन सय १३ संघीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए। राष्ट्रपति पदको मतदानका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। मतदानका लागि नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख समेत रहेका पौडेल काँग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् भने अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको मात्र साथ थियो।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ। संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ। नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ।
को हुन् पौडेल ?
नेपालका तेश्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको जन्म २००१ साल असोजमा तनहुँ जिल्लाको रिस्ती गाविसमा भएको थियो। विं.सं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरिएपछि १६ वर्षको उमेरदेखि पौडेल प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ राजनीतिमा प्रवेश गरेका हुन्।
नेपाली काँग्रेसले २०१८ सालमा सञ्चालन गरेको सशस्त्र क्रान्तिमा पौडेल सहभागी भएका थिए। विं.सं २०१९ को स्वतन्त्र विद्यार्थी आन्दोलनमा अभियानकर्मीका रुपमा उनले भूमिका निर्वाह गरे। विसं २०२३ मा सरस्वती कलेज विद्यार्थी युनियनको सभापति निर्वाचित भएका पौडेलले सोही वर्ष संस्थापक सभापति भई गण्डकी विद्यार्थी समितिको स्थापनामा नेतृत्व लिएका थिए।
विं.सं २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको निर्वाचित महासचिव भएका पौडेलले २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापनामा समेत नेतृत्वदायी भूमिका निर्वाह गरे। नेपाली काँग्रेस तनहुँ जिल्ला कार्य समितिका सदस्य पदमा २०३४ सालमा निर्वाचित भएका पौडेल २०३६ सालमा जिल्ला उपसभापति र जनमतसङ्ग्रहका समयमा सर्वदलीय प्रचार अभियानको अध्यक्ष भएर बहुदलका पक्षमा जनमत निर्माणमा योगदान पुर्याए। २०४० सालमा काँग्रेस केन्द्रीय प्रचार समितिको संयोजक र २०४४ सालमा केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाले।

पञ्चायत व्यवस्थाविरुद्ध ३० वर्ष सङ्घर्ष गरी २०४६ सालमा प्रजातन्त्र स्थापनापछि २०४८ सालको संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट संसद् सदस्यमा निर्वाचित भएका थिए। संसदीय निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा स्थानीय विकासमन्त्रीको कार्यभार सम्हालेका नेता पौडेलले २०४९ सालमा कृषि मन्त्रालयको थप जिम्मेवारीसमेत लिए। विसं २०५१ को मध्यावधि निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट संसद् सदस्यमा निर्वाचित भएपछि उनले पाँच वर्षसम्म सभामुखको भूमिका निर्वाह गरे। विं.सं २०५६ को संसदीय निर्वाचनमा पुनः तनहुँ क्षेत्र नं २ बाट सांसद बनेका नेता पौडेलले २०५७ सालमा उपप्रधानमन्त्री, गृह एवं सञ्चारमन्त्रीको पदभार ग्रहण गरेका थिए।
विसं २०६२ मा काँग्रेसको महामन्त्री भएका नेता पौडेलले २०६३ सालमा पुनःस्थासपत संसद्को सदस्य भई तत्कालीन नेकपा (माओवादी) लाई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन महत्वपूर्ण योगदान पुर्याउनाका साथै शान्ति सचिवालयको संयोजकको भूमिका निर्वाह गरे। माओवादी समेत संलग्न भई २०६३ सालमा गठन भएको सरकारमा नवगठित शान्ति तथा पुनःनिर्माण मन्त्रालयको पहिलो नेतृत्व पनि नेता पौडेलले नै सम्हाले।
विसं २०६४ मा काँग्रेस उपसभापति भएका नेता पौडेल २०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाटै चौथो पटक सभासद्मा निर्वाचित भए। विसं २०६५ मा काँग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका पौडेल २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि तनहुँ २ नं क्षेत्रबाटै पाँचौँ पटक सभासद्मा निर्वाचित भए। २०७४ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पौडेल पराजित भए। २०७९ मा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बनेका पौडेल निर्वाचित भए।
निरङ्कुश राजतन्त्रविरुद्ध लड्ने क्रममा २०१९ देखि २०४६ सालसम्म पटकपटक गरी १३ वर्ष राजनीतिक बन्दीका रुपमा कारागार बसे। स्वतन्त्रता र प्रजातन्त्रबाट मात्रै जनताको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको संरक्षण हुन सक्छ भन्ने वैचारिक मान्यता राख्ने पौडेलले जनएकता भए मात्र समृद्ध मुलुक निर्माण गर्न सकिन्छ भन्ने विश्वास राख्छन्।
न्यूनतम आधारभूत आवश्यकताका सामग्रीबाट वञ्चित तथा गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने पनि उनको मान्यता रहेको छ। त्रिविबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन गरेका पौडेलका समसामयिक राजनीतिसम्बन्धी पुस्तक प्रकाशन भएका छन्।
उनका ‘प्रजातान्त्रिक समाजवाद : एक अध्ययन’ २०४६, ‘नेपाली काँग्रेस के भन्छ ?’ २०४८ र ‘नयाँ सन्दर्भमा समाजवाद’ २०५२ कृति लगायत समकालीन राजनीति र मानवअधिकारसँग सम्बद्ध विभिन्न लेख प्रकाशित छन्।





















