चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई धेरैले विकासवादी नेता ठान्छन् । उनकै कारण भरतपुरमा थुप्रै विकास आयोजनाहरु निर्माणाधीन छन् । अर्बौँ बजेट परेका छन् । ठूलाठूला पूर्वाधारहरु थपिएका छन्, थपिँदै छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८० / ८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन मूल्यांकन गरेको थियो । भरतपुर महानगर कार्यसम्पादनमा देशभरमै उत्कृष्ट बन्यो । देशकै उत्कृष्ट महानगर बनेको जस मेयर रेनुले पाउनु स्वभाविक छ ।
चितवनका ७ स्थानीय पालिकाको मूल्यांकनमा पनि महानगर पहिलो नम्बरमा छ । महानगर यसअघि पनि ३ पटक उत्कृष्टको सूचिमा परेको थियो । महानगर अनेक विधामा पुरस्कृत भइसकेको छ ।
रेनुको यो दोस्रो कार्याकाल हो । उनी २०७४ मा ४३ हजार १ सय २७ मत ल्याएकी थिइन् । त्यो बेला प्रतिस्पर्धीसँग उनको मतान्तर २ सय ४ मात्रै थियो । २०७९ वैशाखमा भएको चुनावमा रेनुले ५२ हजार २८ मत ल्याइन् । प्रतिस्पर्धीसँग १२ हजार ४ सय ४६ मतान्तर रह्यो । यसपालिको चुनावमा गठबन्धनबाटै बागी बन्दासमेत उनले फराकिलो मतसहित जितिन् । भनिन्छ– सल्लाह दिनेहरु, सहजीकरण गर्नेहरु गतिला भए भने विवादमा परिँदैन, काममा अवरोधहरु आउँदैनन्, मन जितेर कामलाई गति दिन सकिन्छ । रेनुको साहस, कडा परिश्रम, धैर्यता, संगत, आत्मविश्वास पनि सफलताका कारणहरु हुन् । रेनुलाई सफल बनाउनेमध्येका एक हुन् सुरेशचन्द्र अधिकारी । पहिलो कार्यकालकै कामहरु देखेर महानगरबासीले फेरी मेयरमा रेनुलाई नै रोजे ।
रेनुले पनि पहिलो कार्याकालमा सचिवालय सम्हालेका सुरेशचन्द्र अधिकारीलाईनै दोस्रो कार्याकालमा रोजिन् ।
को हुन् त सुरेशचन्द्र ?
सुरेशचन्द्र अधिकारी पत्रकार हुन् । प्रेस सेन्टर नेपालका वर्तमान केन्द्रीय उपाध्यक्ष हुन् । भरतपुर महानगरको प्रेस तथा सचिवालय प्रमुख रहेका सुरेशचन्द्र यसअघि केन्द्रीय कोषाध्यक्ष थिए । उनी तत्कालीन क्रान्तिकारी पत्रकार संघ चितवनको संस्थापक अध्यक्ष, केन्द्रीय सदस्य थिए । २०५३ देखि पत्रकारितमा सक्रिय रहेका उनी सफल खबरका प्रधान सम्पादक, चुरे सन्देश साप्ताहिकका कार्यकारी सम्पादक हुन् । यी दुबै सञ्चारमाध्यमका मालिक उनै हुन् । उनले नारायणी साप्ताहिक, ज्वाला साप्ताहिक, जनादेश, सगरमाथा टीभी, एबीसी टेलिभिजनमा चितवनबाटै समाचारहरु पठाउने गर्थे । पत्रकार मात्रै भएर उनी मेयर रेनुको सचिवालयमा पुगेका हुन् कि जस्तो लाग्न सक्छ । तर, कथा बेग्लै छ । उनी माओवादी पार्टीले जनयुद्ध चलाउँदा सक्रिय भएर कलम चलाएका व्यक्ति हुन् ।
२०५८ मंसिर ११ मा तत्कालीन सरकारले संकटकाल लगाएर माओवादीलाई आतंकारी घोषणा गरेको थियो । त्यही दिन सुरेशचन्द्रलाई समाचार लेख्दालेख्दै कार्यलयबाटै प्रहरीले गिरफ्तार गरेको थियो । २०५६ देखि चुरे सन्देश साप्ताहिक प्रकाशन गरेका थिए । प्रहरीले पत्रिकाको कार्यालयमै सिल गरेको थियो । घरमा पनि प्रहरीले छापा मा¥यो । उनी ६ महिना भूमिगत बने । प्रहरीले खोजिरह्यो । उनी अल्सरले थलिए । लुकिछिपी काठमाण्डौको अस्पतालमा उपचार गराउन जान्थे । अन्तिमपटक चेकअपका लागि जाँदा उनी फेरि पक्राउ परे ।
आँखामा पट्टी लगाएर उनलाई प्रहरीले हनुमान ढोका लग्यो । लागूऔषधको मुद्दामा परेर छुटेका एउटा युवाको सहायता लिएर उनले आफ्नो परिवार र पत्रकार महासंघका तत्कालीन केन्द्रीय अध्यक्ष सुरेश आचार्य, जिल्ला अध्यक्ष विष्णु छिमेकीलाई खबर गरे । सुरेशचन्द्र खोज्न आचार्य, छिमेकीसहित उनको परिवार हनुमानढोका पुग्यो । तर, उनलाई अर्कै ठाउँमा लगिसकेकाले उनी फेला परेनन् । जब उनलाई आँखा बाँधेर अन्यत्रै लैजादै थिए, उनले एउटा स्वर चिने । रानाभाट थरका एक जना सईको स्वर पत्ता लगाएर मेरो आँखा खोल्दिनुस् भने । पछि ती सईले आँखा खोल्दा नौविसे आइपुगेको थाहा पाए । पछि उनलाई चितवन ल्याइयो । भरतपुर व्यारेकमा थुनिए । कैयनपटक बुट उनको छातिमा बज्रे । ट्रयाक्टरमा बाँधेर दौडाइयो ।
कैयन पीडा भोगे । चितवन प्रहरीको हिरासतमा पनि राखियो । तत्कालीन सिडिओ दुर्गा भण्डारीले आत्मसपर्मण गरे छोडिदिने भनेर फकाए । उनले मानेनन् । विष्फोटक पदार्थ पड्काएको अवस्थामा फेला परेको झुटा विवरण बनाएर ९० दिन नजरबन्दमा परे । शान्ति वार्ता चल्दै गर्दा उनी छुटे । तर, विहान १० बजे र साँझ ४ बजे जिल्ला प्रहरी कार्यालयमा हाजिर गर्नुपर्ने गरी तारिखमा छुटे । उनले झण्डै १ वर्ष जेलजीवन विताए ।
अधिकारी २०५२ सालमा तत्कालीन माओवादीको पार्टी सदस्य बनेका थिए । २०६७ सालतिर उनी पार्टीको केन्द्रीय सदस्य पनि बने । उनी राजनीतिमा पनि सक्रिय थिए । अनेरास्ववियु क्रान्तिकारी चितवनको कोषाध्यक्ष पनि बने । राजनीतिम चेत भएको परिवारमा हुर्केका थिए । २०३४ असोज १३ गते गोरखाको हंसपुर अर्थात अहिलेको अजिरकोट गाउँपालिका–१ मा जन्मेका थिए । २०५० सालमा पढाईका शिलशिलामा उनी चितवन आएका थिए । २०३६ सालतिरै किनेर राखेको जग्गा थियो । २५ वर्षदेखि उनी भिजन डेरी उद्योग चलाउँदै आएका छन् । भिजन सप्लायर्स मार्फत व्यापार पनि गर्छन् । केही बैँक तथा वित्तीय संस्थामा लगानी पनि गरेका छन् । हक्की स्वभावका उनी मेयर रेनुलाई सफल बनाउन दिनरात खटिएका छन् ।
रेनुको सचिवालयमा किन परिरहे ?
रेनु वर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छोरी हुन् । पार्टी अध्यक्षकै छोरी स्थानीय तहको प्रमुख रहँदा उनको कार्याकाल विवादरहित र जनताको मन जित्ने गरी कामहरु हुनुपर्छ भन्नेमा माओवादी छ । पत्रकार संगठनको नेतृत्वमा रहेका सुरेशचन्द्रलाई मेयरको सचिवालय व्यवस्थापनको जिम्मा दिने कुरा चल्यो । उनले सोचे– मेयर रेनुको हाई–हाई गराउने जिम्मेवारी छोड्नुहुदैन । उनी २०७४ मा रेनुको सचिवालयमा बसे । भेटघाट, कार्यक्रम, विज्ञहरुसँगको अन्तक्र्रिया, योजना निर्माणलगायतका कामहरुमा खटिए । दिनहुँ झण्डै पाँच सय जना व्यक्ति रेनुसँग भेटका लागि आउने गर्छन् ।
कतिपय विकास पूर्वाधारको चिन्ता लिएर आइपुग्छन्, कतिपय पार्टीका कामहरु लिएर आउँछन् । केही व्यक्ति फगत भेटका लागि पनि आउँछन् । भेटघाटको औचित्यता हेरेर समय मिलाउनुपर्ने भूमिकामा सुरेशचन्द्रले ५ वर्ष काम गरे । मेयर भेट्न पनि पाइएन, सचिवालयमै बसेर फर्किनु परेको आलोचना पनि भए । तर, उनले हरेश खाएनन् । देश हाँक्ने व्यक्ति प्रचण्डलाई प्रत्यक्ष भेट्न समय नमिलिरहेकाहरुले रेनुसँग भेट गरेर गुनासाहरु टिपाउँथे । रेनुलाई भेट्न सांसदहरु, नेताहरु, अगुवाहरु सबै आइपुग्थे । “आउनेवित्तिकै भेट्न पाएनौँ भन्ने गुनासो सुनिरहनुपर्छ”, सुरेशचन्द्र भन्छन्, “समय व्यवस्थापन गर्नु सजिलो छैन, तर मेयरका दैनिक हुने कामहरुमा असर नपर्ने गरी भेटघाटका तालिकाहरु बनाउँदै आएका छौँ ।”
रेनु दैनिक कम्तीमा ३ वटा सार्वजनिक कार्यक्रमहरुमा जान्छिन् । जनताहरुसँग घुलमिल हुन्छिन् । भन्छिन्– ‘केही अप्ठ्यारो छ, सोझै मलाई भन्न आउनुस् ।’ विज्ञहरुसँग सुझाव लिने, परामर्श गर्ने, योजना निर्माण गर्ने, पूर्वाधारहरुको निगरानी गर्ने, जनताका गुनासाहरु सम्बोधन गर्ने, महानगरको कार्यसम्पादन गर्ने सबै कामहरुमा रेनुलाई सफल बनाउन सुरेशचन्द्र सहितको सचिवालय टिम ‘बलियो जग’ बनेको छ । विहानै ७ बजे रेनुसँग पुग्ने, राती ८ बजे घर फर्किनु परेपनि सुरेशचन्द्र थाकेका छैनन् । आजित छैनन् ।
आफ्नो व्यवसाय छोरालाई जिम्मा लगाएर उनी महानगरमा दिनरात खटिएका छन् । सुरेशचन्द्रले महानगरबाट तलब, भत्ता पहिलो कार्याकालमा पनि लिएनन्, यसपटक पनि लिएका छैनन् । जनतासँगको पुलको काम गर्दै आएका सुरेशचन्द्र रेनुकै कारण महानगरमा भित्रिएका ठूला पूर्वाधारहरु देख्दा खुशी बन्छन् । महानगर यतिबेला कैयन दीर्घकालीन महत्वका पूर्वाधारहरु निर्माणाधीन छन् । “जनतासँग जति नजिक बनेर जनप्रतिनिधिले काम गर्छन्, त्यति सफलता मिल्छ”, उनी भन्छन्, “भरतपुर महानगर अबको ३ वर्षमै नमुना शहर बन्नेछ ।” महानगरभित्र बजेट पार्नका लागि रेनुको दौडधुप पनि उस्तै छ । उनीसँगै सुरेशचन्द्र दौडिरहेका छन् । ९३ वर्षीय बुबा मित्रलाल र ७६ वर्षीया आमा लक्ष्मी अधिकारीको हेरचाह गर्न समय दिन सकेका छैनन् । अस्पतालमा भर्ना हुँदा समेत सुरेशचन्द्र महानगरकै काममा दौडिरहन्छन् । रेनु चितवनसँग घुलमिल नहुँदासमेत सुरेशचन्द्रले चितवनलाई चिनाएका थिए । रेनुको चर्चा बढिरहँदा पर्दा पछाडि रहेका सुरेशचन्द्रको महानगरलाई समृद्ध बनाउन पुल बनिरहेका छन् ।





















