चितवन । नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रवद्र्धनका लागि चितवनको भरतपुरमा प्रथम फुटवयर एक्स्पो २०७९ हुने भएको छ ।
चितवनको भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा फागुन १७ गतेदेखि चैत १७ गतेसम्म फुटवयर एक्स्पो हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नेपाली जुत्ता घर र चितवन उद्योग संघको संयुक्त आयोजनामा हुने एक्स्पोमा १० भन्दा बढी नेपाली उद्योगले उत्पादन गरेका करिब एक हजार प्रकारका जुत्ता तथा चप्पलहरु एकै ठाउँमा प्रदर्शन गरिने बताइएको छ ।
नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले प्रदर्शनीमा नेपाली उत्पादनका जुत्ताचप्पलका ४० वटा स्टर रहने जानकारी दिए । उपाध्यायकाअनुसार प्रदर्शनीमा तीन सय रुपैयाँदेखि पाँच हजार रुपैयाँ मूल्यसम्मका जुत्ता चप्पलहरु पाइने छन् ।
नेपाली जुत्ता चप्पलाई प्रोत्साहन गर्ने उद्देश्यले चितवनमा प्रदर्शनी गर्न लागिएको उपाध्यायको भनाइ छ । पत्रकार सम्मेलनमा नेपाल फुटवयर एशोसिएसनका अधयक्ष नानीराज घिमिरेले नेपाली जुत्ताहरु गुणस्तरीय र कम मूल्यमा पाइने उल्लेख गर्दै स्वेदशी उत्पादन प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताए ।





















