काठमाडौँ। भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल पनि नेपाल बराबरीमै रोकिएको छ। चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो।
यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २ – २ गोलको बराबरी खेलेको थियो। बुधबार भएको खेलमा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग रोमान्चक बराबरी खेलेको हो। नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन्।
काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारतले दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो।
गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १ – ० ले हराएको थियो ।
ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको हो ।
























