चितवन – भरतपुर महानगरमा महिला हिंसा तथा आत्मारक्षा कला तालिम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. ३ को आयोजनामा वडाभित्रका महिलालाई नैतिकवान र चरित्रवान बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले महिलाहरु एक्लै पनि जिउन सक्षम रहेको बताए ।

‘अब भरतपुर–३ का महिलाहरुले आफूलाई परिआएको खण्डमा आफ्नो प्रतिरक्षा आफै गर्न सक्ने भएका छन्,’ उपप्रमुख अधिकारीले भने, ‘वडा नं. ३ महानगरकै पहिलो महिला हिंसामुक्त तथा आत्मरक्षा कलायुक्त भएको छ ।’
यस्ता खालका तालिमहरुले महिलाहरुमा आत्म विश्वास बढाउनुको साथै समाजमा सामाजिक कार्य गर्नमा पनि थप प्रेरित गर्ने छ उपप्रमुख अधिकारीको भनाइ थियो ।
समापन कार्यक्रममा बोल्दै वडा नं. ३ का वडाध्यक्ष विकास थापाले यस्ता खालका तालिमहरु आगामी दिनहरुमा पनि क्रमशः गर्दै जाने सोच राखिएको बताए ।
तालिममा २२ वटा टोल र ११ वटा आमा समूहबाट छनोट भएर आएका १ सय ५० जनाभन्दा बढी महिलाहरुको सहभागिता रहेको थियोे ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य सुकमाया परियार, वडा सदस्य कमलादेवी बोलखे, रामबहादुर लोहनी, माधव अर्याल र सहभागीहरुको तर्फबाट फूलमाया थापामगर लगायतले बोलेका थिए ।





















