काठमाडौं / कोरोनाका कारण कर्जा तिर्न समस्या परेका सहकारीका ऋणीहरूलाई राहत हुने भएको छ । कोरोना प्रभावित ऋणीहरूका लागि एक वर्षसम्म समावधि थप गर्न मिल्ने गरी सहकारी विभागले प्रावधान ल्याएको छ । विभागले शुक्रबार १० बुँदे मार्गदर्शन तथा निर्देशन जारी गरेको छ ।
निर्देशनमा कोरोनाका कारण प्रभावित भई असार मसान्तसम्म कर्जा तिर्न नसकेका ऋणीलाई जोखिम मूल्याकन गरी भाका सार्न सकिने व्यवस्था गरेको छ । सहकारीहरूले ऋणीको व्यवसाय सञ्चालन हुन लाग्ने समय र जोखिम मूल्याकन गरी ६ महिनासम्म भाका सार्न सक्ने विभागले जनाएको छ ।
भाका सार्न जोखिम मूल्यांकन समितिले निर्णय गर्नु पर्नेछ । सञ्चालकको संयोजकतामा तीन सदस्यीय जोखिम मूल्यांकन समिति गठन हुने व्यवस्था समेत रहेको छ । सहकारीले नियामक संस्थाको पूर्व स्वीकृति लिएर एक वर्षसम्म भाका सार्न सक्ने विभागले जनाएको छ ।
म्याद थप गरे बापत सरकारीले सदस्यबाट जरिवाना र अतिरिक्त शुल्क समेत लिन पाउने छैनन् ।





















