काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताएकी छन्।
नेपाल पत्रकार महासंघको आयोजनामा सञ्चारग्राममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री शर्माले प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक भइसेकेकोले पुराना कानुनलाई प्रतिस्थापन गर्दै सरोकारवालाको प्रत्यक्ष सहभागितामा नयाँ कानुन निर्माण गरिने स्पष्ट पारिन्।
उनले महासंघलगायत सरोकारवाला संस्थालाई सञ्चारक्षेत्रमा रहेका नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव दिन आग्रह गरिन्। उनले सोही आधारमा सुधार गरिँदै लैजाने समेत प्रतिबद्धता व्यक्त गरिन्। उनले मुलुकको विकास र परिवर्तनका लागि आमसञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताइन्।
‘राजनीति र पत्रकारिता अभिन्नरुपमा एक आपसमा जोडिएका छन्। राजनीति र पत्रकारिता जोडिएको थिएन भने देशमा ठूलाठूला परिवर्तन सम्भव पनि थिएन। देशमा भएका राजनीतिक परिवर्तनमा सहकार्य गरेर काँधमा काँध थापेर यहाँसम्म आएको हो,’ उनले भनिन्।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले संसदमा छलफल भएका र पाइपलाइनमा रहेका सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन मन्त्री शर्मा समक्ष आग्रह गरे। सरकारले सञ्चारक्षेत्रलाई प्रदान गर्दै आएको सहुलियत सञ्चालकले मात्र नभई श्रमजीवी पत्रकारले पनि पाउनुपर्नेमा अध्यक्ष पोख्रेलले जोड दिए।
आमसञ्चार प्रतिष्ठान, जेष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चार क्षेत्रको नीतिगत सुधारका लागि महासंघले दिएको सुझावका आधारमा निर्माण हुनुपर्नेमा उनको भनाइ थियो।





















