काठमाडौं । बलात्कारको मुद्दामा पक्राउ परेर २० लाख धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछाने शुक्रबारदेखि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी भएका छन्।
गत मंगलबार पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपमाटिको निलम्बन फुकुवा गरेको थियो। गत भदौमा एक नाबालिगलाई बलात्कार गरेको आरोपमा असोजमा पक्राउ परेका सन्दीप पुस २८ गते २० लाख धरौटीमा सशर्त छुटेका थिए।
उनको निलम्बन फुकुवासँगै बिहीबार राति क्यानले अर्को महिना हुने त्रिदेशीय एकदिवसीय शृंखलाका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा बोलाएका खेलाडीको सूचीमा सन्दीपको पनि नाम थियो।
उनको उच्च अदालतको मुद्दाको टुंगो लागिसकेको छैन। महान्यायाधिवक्ताले उनलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्चले कैफियत प्रतिवेदन माग गरेको छ ।





















