चितवन – नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाको ३२ औँ वार्षिकोत्सव तथा २३ औँ साधारणसभा एवम् ७औँ अधिवेशन मंगलबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गर्दै उहाँले उपशाखा हाताभित्र निर्माण गरिएको जाँ हेनरी ड्युनाको अर्र्धकदको सालिकको पनि अनावरण गर्नुभयो । कार्यक्रमको उद्वघाटन तथा अर्ध कदको सालिक अनावरण गर्नुहुँदै उपप्रमुख अधिकारीले हेनरी ड्युनाको त्यागकै कारण आज रेडक्रस जस्तो पवित्र संस्थाले समाजमा रगतको अभाव हुनबाट जोगाएको बताउनुभयो ।

समाजमा दिन प्रतिदिन रगतको माग बढ्दै गएको अवस्थामा रेडक्रसले केही हदसम्म भएपनि आमनागरिकलाई अकाल मृत्यु हुनबाट बचाएको जिकिर गर्नुभयो । मेडिकल हबको रुपमा विकास हुँदै आएको चितवनमा रगतको अभाव हुन नदिनको लागि रेडक्रसले पुलको काम गरिरहेकोमा उपप्रमुख अधिकारीले खुशी प्रकट गर्नुभयो ।

उपप्रमुख अधिकारीले भन्नुभयो– ‘विश्वमा रेडक्रसको स्थापना भएदेखि लाखौं मानिसहरु मृत्युको मुखबाट फिर्ता आएको स्मरण गर्दै उपप्रमुख अधिकारीले रेडक्रसका सात आधारभूत सिद्धान्तहरुलाई कहिल्यै पनि बिर्सन हुँदैन ।’
‘रेडक्रस सबैको साझा संस्था हो’, उपप्रमुख अधिकारीले भन्नुभयो, ‘मानवले मानवको लागि मानवीय व्यवहार गर्न सबैमा प्रेरणा मिलोस् ।’ कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ, कार्यपालिका सदस्य शारदा पोख्रेललगायतले मन्तव्य राख्नुभएको थियोे ।

























