काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, ‘विदेशमा लाखौं नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो कार्यकाल विदेशमा बस्ने बहुसंख्याक नेपालीको मन जित्छु।’
प्रधानमन्त्री निवास बालुवाटारमा आज गैरआवासीय संघका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालका कतिपय परम्परागत ऐन कानुन छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईंलाई विश्वस्त पार्न चाहन्छु कि म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु।’
भेटमा उनले नेपालमा विद्यमान कतिपय कानुनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबका दिनमा पनि कानुनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए।
विदेशमा रहेका नेपालीले नेपाल र नेपालीको पहिचान विश्वमाझ पुर्याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैरआवासीय नेपालीप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गरे।
राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिकरूपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरू थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरे।





















