काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बुधबार यस्तो आदेश जारी भएको हो । आदेशअनुसार सन्दीपले मुद्दाको अन्तिम फैसला नभएसम्म काठमाडौं छाड्दा पनि अनुमति लिनुपर्नेछ ।
उनलाई विदेश जान रोक लगाइएको छ भने राहदानी पनि रोक्का गर्न सरकारलाई आदेश दिइएको छ । त्यसैगरी सन्दीपले पीडितको परिवारलाई कुनै पनि तरिकाले सम्पर्क गर्न पाउने छैनन् भने जाहेरवालासँगको सम्बन्धका बारेमा कुनै पनि सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा टिप्पणी गर्न पनि पाउने छैनन् ।
काठमाडौं छाड्नुपरे जिल्ला प्रहरी कार्यालयलाई लिखित जानकारी गराउनुपर्ने, जाने र फर्किने मिति पनि खुलाउनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।
त्यसैगरी प्रहरीले सन्दीपको फोन पनि गोपनीयता भंग नहुने गरी निगरानीमा राख्न अदालतले आदेश दिएको छ ।
बलात्कारको आरोपमा सन्दीपलाई असोज २० गते विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
दोहाबाट कतार एयरवेजको विमानमार्फत काठमाडौं ओर्लिएका उनलाई पक्राउ गरिएको थियो ।
सन्दीपलाई भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको थियो ।
काठमाडौंको होटल इनमा भदौ ५ गते राति आफूलाई पटक पटक बलात्कार गरेको एक किशोरीको उजुरीपछि विदेशमा रहेका सन्दीपलाई पक्राउ गर्नको लागि ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो ।
क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका सन्दीपविरुद्ध काठमाडौंमा उजुरी परेको थियो । प्रहरीले प्रमाणका रुपमा होटलको सीसीटीभी फुटेज, पीडितको बयान, स्वास्थ्य परीक्षण, होटलका कर्मचारीके बयानलाई पनि समेटेको थियो ।
सन्दीपले यसअघि काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा आफूलाई सिलसिलारुपमा फसाउन खोजिएको बताएका थिए ।
सन्दीप पक्राउ पर्दा नेपाली क्रिकेट टिमका क्याप्टेन थिए ।





















