काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यलाई विशेष आभार प्रकट गरेका छन्। उनले भने, ‘प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिंगो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु।’
प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘तपाईंहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गर्दछु।’
उनले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो। बैठकमा पाँच जना सांसद अनुपस्थित थिए भने बैठकमा कूल दुई सय ७० सांसद उपस्थित थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले यही पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए। प्रतिनिधिसभा सदस्यको गत मंसिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ।
उनले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ।
प्रधानमन्त्री दाहाललाई नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी , जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।





















