काठमाडौं / राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनिल थापा सहित ३१ जनाले संयुक्त रूपमा राजीनामा बुझाएका छन्। पार्टी एकतामा असन्तुष्ट रहेका थापा सहितका नेताले राप्रपाका अध्यक्षत्रयलाई सम्बोधन गर्दै शनिबार राजीनामा बुझाएका हुन्।
सुनिल थापा राप्रपा एकता हुनुअघिदेखि नै पार्टीमा असन्तुष्ट थिए। उनले काँग्रेसमा प्रवेश गर्ने तयारी गरेको बताइएको छ। पूर्वमहामन्त्री थापा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्। उनी राप्रपा एकता हुनुपूर्व राप्रपा नेपालका महामन्त्री थिए।

राजीनामा दिनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह लगायत छन्।
राजीनामा पत्रमा भनिएको छ, नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको, स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रतिको आमरुपमा विश्वास समाप्त भएको र पार्टी दिशाहीन बनेको छ।
उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने उल्लेख गर्दै उनीहरुले आजकै मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गरेका छन्। राजीनामा दिनेमा सो पार्टीका १२ केन्द्रीय सदस्य छन्।
पार्टीमा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधनसँगै सैद्धान्तिक र वैचारिक मान्यतामा पनि बिचलन देखिएर दिशाविहीन भएको आरोप उनीहरूको छ।
























