चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘भरतपुरमा लगानी सम्मेलन’को तयारी थालिएको बताएकी छन्। भरतपुरमा आज होटल व्यवसायी महासंघको १० औँ साधारणसभामा उनले यही वर्षभित्र लगानी सम्मेलन गर्ने गरी महानगरपालिका अगाडि बढेको बताएकी हुन्।
मेयर दाहालले लगानी सम्मेलनमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई भरतपुरमा बोलाएर यहाँको विभिन्न क्षेत्रमा गर्न सकिने लगानीबारे सम्भावना प्रस्तुत गरिने उल्लेख गरिन्।
लगानी सम्मेलनपछि भरतपुरको पर्यटकीय क्षेत्रमा लगानी गर्ने वातावरण उच्च रहेको उनको भनाई थियो। मेयर दाहालले भरतपुरमा निर्माणाधीन भौतिक पूर्वाधार निर्माण सम्पन्न भएसँगै पर्यटकीय गतिविधि वृद्धि हुने दाबीसमेत गरिन्।
भरतपुर महानगरपालिका दुई ठूला नदीले घेरिएको जल, जमिन र जंगलको अनुपम स्थल भएकाले हरेक क्षेत्रमा प्रचुर सम्भावना रहेको उनको भनाई छ।

भरतपुर महानगरपालिका देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको भन्दै मेयर दाहालले सन् २०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा स्वास्थ्य पर्यटन, कृषि पर्यटन, शिक्षा पर्यटन तथा अन्य सबै पर्यटनको अवलोकन गर्न निमन्त्रणा गरिने बताइन्।
‘भरतपुर लगानीकर्ताको आकर्षणको केन्द्र बनेको छ,’ उनले भनिन्, ‘यहाँ तारे होटल खुलेका छन्, सुविधा सम्पन्न होटल र रिसोर्ट खुल्ने क्रम पनि जारी छ। पर्यटन गतिविधिका साथै रोजगारी पनि सिर्जना भएका छन्।’
मेयर दाहालले स्थानीय सरकारको हैसियतले पर्यटन तथा होटल व्यवसायीसँग समन्वय गर्दै अघि बढ्ने अभ्यास महानगरपालिकाले गर्दै आएको र भावी दिनमा पनि सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्।
भरतपुरको दिगो ढंगबाट पर्यटन प्रवर्द्धन गर्न महानगरपालिका सधैँ सबै क्षेत्रसँग समन्वय, सहकार्य र छलफल गरी अघि बढ्ने पनि उद्घोष गरिन्।





















