चितवन – भरतपुर महानगरपालिका ६ गीतानगरमा रहेको अरुणोदय माध्यमिक विद्यालयले ६२ औं वार्षिकोत्सव मनाएको छ । आज एक समारोहका विच ६२ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस भव्य र उल्लासमय रुपमा मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक एवं भौतिक गुणस्तर विकास र विस्तारका लागि महानगरपालिका प्रतिवद्ध रहेको वताउनुभयो । मेयर दाहालले विद्यालय पछिल्लो समय नमुना विद्यालयको रुपमा विकास हुदै आएकोमा आगमी दिनमा थप उत्साहका साथ शैक्षिक विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
सो क्रममा उहाँले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र डिएलपिआईयू (शिक्षा ) अन्तर्गत निर्माण भएको आठ कोठे भवनको उद्घाटन गर्नुभयो ।

त्यस्तै सो कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले विद्यालयको विकासका लागि आफु हरदम प्रयासरत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयको विकास र गुणस्तर विस्तारका लागि समाज, शिक्षक, विद्यार्थी र राज्यका निकायहरु समान रुपमा जिम्मेबार हुने वताउनुभयो ।
त्यस्तै कार्यक्रममा नगरशिक्षा अधिकारी महेन्द्र पौड्याल, भरतपुर ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठ, पूर्व प्र.अ. प्रेमराज लेखक लगायतले बोल्नुभएको थियो ।
विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक रत्न प्रसाद सापकोटाले प्रस्तुत गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक विकास र भौतिक विकासका सन्दर्भमा विभिन्न गतिविधि र प्रस्तावहरु उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालयमा स्थापित विभिन्न अक्षयकोष छात्रवृति र पुरस्कार वितरण, अक्षयकोष दाता सम्मान र आमा समुह सम्मान र शिक्षक सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिविलास कोइरालाको अध्यक्षतामा सम्पन भयो ।
वि.स. २०१७ सालमा स्थापित अरुणोदय मा.विमा हाल कक्षा नर्सरी देखि १२ सम्म पढाई हुने गरेको छ । विद्यालयमा हाल ६ सय २९ विद्यार्थी रहेका छन् ।





















