काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको चालमा कांग्रेस सभापति शेरबहादुर देउवा विश्वस्त हुँदा सत्ता गठबन्धन भत्किएको आरोप लगाएका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीको आश्वासनमा देउवा विश्वस्त हुँदा पाँच दलीय गठबन्धन भत्किएको आरोप लगाएका हुन्।
‘प्रचण्डजीलाई प्रधानमन्त्री दिन कुनै पनि हालतमा देउवा तयार हुनुभएन। आइतबार केपी ओलीले नै फोन गरेर कुनै पनि हालतमा प्रधानमन्त्री नछोड्नु पनि भनेछन्। देउवाजी मख्ख पर्नुभयो’,नेपालले भने, ‘प्रचण्डजीले गठबन्धन भत्कियो भनेर हिँड्दा पनि देउवा प्रधानमन्त्री बन्नेमा ढुक्क हुनुहुन्थ्यो।’
नेता नेपालले प्रचण्ड बालकोट पुगेपछि देउवाले आफूलाई फोन गरेको बताएका छन्।
‘सहमतिका लागि प्रचण्डजी बालकोट पुगेपछि बालुवाटारबाट मलाई फोन आयो। तर समय घर्किएपछि के हुन्थ्यो र?,’नेपालको भनाइ थियो।
नेपालले प्रचण्ड प्रधानमन्त्री भएको आफूले पत्रपत्रिकाबाट थाहा पाएको बताए ।
‘अस्ति हाम्रो पार्टीको संलग्नता बेगर, हाम्रो पार्टीलाई जानकारी नदिइकन प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए’, बैठकमा नेपालको भनाइ थियो, ‘ पत्रिकाबाट न थाहा भएको हो । फोटो देखेर न थाहा भएको हो हामीलाई ।’
प्रचण्डको व्यवहारबाट आफू दुःखी भएको उनले पार्टी कार्यकर्ताहरुलाई बैठकमा सुनाए । ‘यस सम्बन्धमा मैले टिप्पणी के गरेको छु भने प्रचण्डजीको यो व्यवहारबाट म दुःखी छु, दुुखित छु’, नेपालले भने । उनले आफूहरु कांग्रेस र माओवादी दुवैबाट पीडित भएको समेत गुनासो गरेका थिए ।





















