मनास्लु क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकका सहयोगीलाई यस सिजनमा मनास्लु होटल व्यवस्थापन समितिले ३२ हजार वटा कुपन जारी गरेको छ । गत भदौ १५ बाट पुस १ गतेसम्म मनास्लु क्षेत्रमा आउने पर्यटकको गाइड, भरिया तथा अरु नेपाली सहयोगीहरुलाई ३२ हजार १० वटा कुपन जारी गरेको मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिको जगतस्थित कार्यालयले जनाएको छ ।
पर्यटकका सहयोगीहरुलाई कुपन दिएबापत समितिले रु. २५० का दरले अग्रिम भुक्तानी संकलन गर्ने गर्छ । कुपन जारी गरेर समितिले ७४ लाख ९७ हजार पाँचसय रुपैयाँ संकलन गरेको समितिका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
यस सिजनमा मनास्लु क्षेत्रमा चारहजार चासय ७९ जना पर्यटकले भ्रमण गरेका थिए । गत साउनदेखि मंसीर १५ गतेसम्म भ्रमण गरेका पर्यटकको सहयोगीहरुले होटलमा सेवा लिएबापत होटल व्यवासयीलाई सो कुपन दिने गर्छन् ।
होटलमा संकलन भएको कुपनका आधारमा होटल व्यवसायीले समितिबाट भुक्तानी लिने समितिका अध्यक्ष कार्कीले जानकारी दिए । ‘गत पुस १ गतेसम्म कतिवटा कुपन जारी भयो र कति संकलन भयो भन्ने बारे सार्वजनिक सुनुवाइ गरेर जानकारी गराइसकेको छु’, कार्कीले भने, ‘अब वैँकमार्फत भुक्तानीको तयारीमा छौँ ।’
बिगत तीनबर्ष कोभिडका कारण पर्यटक आवागमन बन्द थियो । त्यसैले समितिले काम पनि गरेको थिएन । ‘यसबर्ष समितिले कुपन जारी ग¥यौँ । होटल व्यवसायीहरुबाट सो कुपन संकलन गरिरहेका छौँ’, कार्कीले भने, ‘कुपनबापतको रकम अबको एकहप्ताभित्र होटलको नाममा रहेको कुमारी वैँकको खातामा जम्मा गरिदिनेछौँ ।’
बिगत बर्षमा रकमै हातमा दिने गरे पनि यसबर्ष वैँकले खातामा जम्मा गर्ने जनाएको उनले बताए । ‘चुमनुब्रीमा एकसय भन्दा धेरै होटलहरु छन्’, उनले भने, ‘यसअघि पर्यटकका सहयोगीहरुले होटलमा सेवा लिएबापत रकम भुक्तानी नगर्ने, गरे पनि अत्यन्त न्यून दरमा भुक्तानी गर्ने गर्थे । त्यसबाट आजित भएका सबै होटल व्यवसायी संगठित भई कुपन सिस्टम चलाउन थालेका हौँ ।’ नोक्शान पर्ने ठूलो रकम कुपन सिस्टमपछि उठ्ने हुँदा व्यवसायीलाई ठूलो राहतको महशुस भएको उनको भनाइ छ ।
संकलन भएको रकम समितिको कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापन लगायतका शीर्षकमा केही कट्टी गरी व्यवसायीलाई वितरण गर्ने व्यवस्था छ । ‘यो रकमबाट जगतदेखि पेवासम्मका व्यवसायीसित प्रतिकुपन ३० रुपैयाँ, पेवादेखि ल्हीसम्मका होटल व्यवसायीसित रु २० र त्यसभन्दा माथिका व्यवसायीबाट रु १० का दरले कट्टी गरेर रकम भुक्तानी दिन्छौँ’, कार्कीले भने, ‘व्यवसायीसित संकलन गरेको रकमबाट कार्यालय र कर्मचारी व्यवस्थापन गर्छौँ । पदमार्ग बिग्रिएमा मर्मतसम्भारमा खर्च गर्छौँ ।’ पर्यटकका सहयोगीहरु घाइते, बिरामी तथा बिचल्लीमा परेमा धेरथोर सहयोग स्वरुप प्रदान गर्ने उनले बताए ।





















