काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूले गुनासो गर्ने नभई समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
थापाले अहिलेका युवाहरू भनेको देशको भविष्य भएकाले विद्यार्थी युवा वर्गहरूले समस्याको गुनासो गर्ने नभईकन समाधान गर्न के गर्ने भन्ने कुराको बारेमा सोच्न आवश्यक रहेको जिकिर गरे। युवा वर्ग निन्दक नभईकन आलोचक बन्नुपर्ने उनको भनाइ छ।
‘हामी कहिले काहीँ थाहा न नपाईकन क्रिटिकल भयौं भनेर भन्दाभन्दै यङ मान्छेहरू थाहै नपाईकन सिनिकल हुन्छौं,’ उनले भने, ‘निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुन्छ। तर आलोचक बन्दा बन्दै थाहै नपाईकन हामी निन्दक बनिसकेका हुन्छौं।’
थापाले युवाहरू थाहा नै नपाईकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने धारणा राखे। उनले युवाहरू आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने उल्लेख गरे। ‘जीवनभर कम्प्लेन मात्रै गर्नुभयो भने जीवन कम्प्लेनमा नै सकिन्छ,’ उनले भने।
महामन्त्री थापाले निन्दक बन्नु युवाहरूका लागि जीवनकै सबैभन्दा ठूलो कमजोरी हुने बताए। उनले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालहरूको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए।





















